संविधान दिवस : लोकतन्त्रको उपलब्धि र चुनौती

309 Shares

नेपालको संविधान २०७२ असोज ३ गते संविधान सभाबाट जारी भएपछि प्रत्येक वर्ष असोज ३ गतेलाई संविधान दिवसका रूपमा मनाउने गरिएको छ।यो दिनलाई केवल औपचारिक समारोह वा झण्डा फहराउने र आतसबाजी गर्ने दिन मात्र नभई नेपालको लोकतान्त्रिक यात्राको मूल्यांकन गर्ने अवसरका रूपमा लिन जरुरी छ। संविधान कुनै पनि राष्टूको आत्मा हो,जसले राजनीतिक व्यवस्था,नागरिक अधिकार र राज्यको भविष्यको दिशानिर्देश गर्छ।त्यसैले संविधान दिवसले हामीलाई उपलब्धि,कमजोरी र सुधारका आवश्यकता स्मरण गराउँछ।
संविधान निर्माणको ऐतिहासिक यात्रा
नेपालमा संविधान लेखनको प्रक्रिया सहज थिएन।२०६२/०६३ को जन आन्दोलनपछि मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भयो।दुई पटक संविधान सभा निर्वाचन भयो। हजारौँ छलफल र बहस भए अनि जनताको प्रतिनिधिहरूले अन्ततः२०७२ मा संविधान जारी भयो ।
तर संविधान घोषणा सर्वसम्मत थिएन।केही दल र समुदायका असन्तुष्टिका कारण तत्कालै आन्दोलन भड्कियो।मधेश,थारू र अन्य सीमान्तकृत समूहहरूले आफूलाई पर्याप्त प्रतिनिधित्व नभएको भन्दै संविधानका विरुद्ध सडकमा उत्रिए।यसले संविधान निर्माणलाई ऐतिहासिक उपलब्धि बनाउनुका साथै विवादको पनि विषय बनायो।
संविधानका प्रमुख उपलब्धि
१.संघीय लोकतान्त्रिक गणतन्त्र : संविधानले नेपाललाई संघीय संरचनामा रूपान्तरण ग¥यो।तीन तहको सरकार ः संघ, प्रदेश र स्थानीय तह गरी शक्ति बाँडफाँट गरिएको छ।यसले अधिकार विकेन्द्रीकरण र स्थानीय शासनलाई सबल बनाएको छ।
२.मौलिक अधिकारको प्रत्याभूति : शिक्षा, स्वास्थ्य, रोजगार, अभिव्यक्ति स्वतन्त्रता, समानता,सामाजिक न्याय र वातावरणीय हकजस्ता मौलिक अधिकारलाई संविधानले सुनिश्चित गरेको छ।यी अधिकारले नागरिकलाई अधिकार सम्पन्न बनाउने आधार तयार गरेको छ।
३.समावेशीता र समानुपातिक प्रतिनिधित्व : महिला, दलित ,आदिवासी(जनजाति,मधेशी, पिछडिएको क्षेत्र तथा वर्गका नागरिकलाई समानुपातिक प्रतिनिधित्व मार्फत राज्य संरचनामा सहभागिता सुनिश्चित गरिएको छ।जसको उपलब्धी स्वरुप गणतन्त्र नेपालमा महिला राष्ट्रपति र सभामुख बनाउने काम भयो ।
४.धर्मनिरपेक्षता र सांस्कृतिक विविधताको संरक्षण : संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा परिभाषित गरेको छ।यसले सबै धर्म,भाषा र संस्कृतिलाई समान सम्मान र संरक्षणको ग्यारेन्टी गरेको छ ।
५.संवैधानिक निकायहरूको सबलीकरण : मानव अधिकार आयोग, निर्वाचन आयोग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग,लेखा परीक्षण कार्यालय जस्ता संवैधानिक निकायलाई सबल बनाएर सुशासनको आधार तयार गरिएको छ।
संविधानका कमजोरी र विवाद
१.असन्तुष्ट मधेश र थारू समुदाय : संविधान जारी भएसँगै मधेश आन्दोलन सुरु भयो। उनीहरूको असन्तुष्टि मुख्यतःप्रदेश सीमांकन, समानुपातिक प्रतिनिधित्व र पहिचानमा आधारित संघीयताको प्रश्नमा थियो।अहिले पनि यी मागहरू पूर्ण समाधान हुन सकेका छैनन्।जसका कारण मधेशवादी केही राजनीतिक दलहरुले  संविधान दिवशको दिन कालो दिनको रुपमा समेत मनाउने गरेका छन् ।
२.कार्यान्वयनमा कमजोरी : संविधानमा धेरै अधिकार उल्लेख भए पनि व्यवहारमा लागू भएको छैन।स्वास्थ्य र शिक्षा मौलिक अधिकार भए पनि सबै नागरिकले गुणस्तरीय सेवा पाउन सकेका छैनन्।संविधान प्रदत्त अधिकार कागजी रुपमा लेखिएको भएपनि नेपाली सर्व साधारण नागरिकहरुले त्यो महसुस गर्न पाएका छैनन् ।
३.शक्ति संघर्ष र राजनीतिक अस्थिरता : संविधानले स्पष्ट शक्ति बाँडफाँट गरेको भए पनि राजनीतिक दलहरूको सत्ता(संघर्षले संविधानको आत्मा कमजोर पारेको छ।सरकारहरू छोटो अवधिमा बदलिरहँदा नीति निरन्तरता हराएको छ।दिगो विकास हुन सकिरहेको छैन् ।
४.न्यायपालिकामा प्रश्न : न्यायालय स्वतन्त्र भए पनि कार्यशैलीमा प्रश्न उठ्ने गरेको छ। संवैधानिक व्याख्यामा राजनीतिक प्रभाव देखिँदा संविधानको मर्यादा घटेको छ।स्वतन्त्र हुने भनिएका अंगहरुलाई राजनीतिक दवाव सृजना गर्दा संविधानको मर्म मरेको छ ।
५.संघीय अभ्यासमा अस्पष्टता
प्रदेश र स्थानीय सरकारलाई पर्याप्त अधिकार दिइए पनि संघीयता अझै पूर्णरूपमा संस्थागत हुन सकेको छैन।वित्तीय स्वायत्तता,कानुन निर्माण र कार्यान्वयनमा समस्या देखिएको छ।हात खुट्टा बाँधेर प्रत्यायोजन गरिएको अधिकारले अर्थ नराख्ने प्रष्ट छ ।
संविधान दिवसको वर्तमान महत्व
आज संविधान दिवस केवल विगत सम्झने दिन मात्र होइन,भविष्यको बाटो कोर्ने अवसर हो। संविधानले दिएको अधिकार नागरिकले प्राप्त गरिरहेका छन् कि छैनन्?राजनीतिक दलहरुले जनताप्रति उत्तरदायित्व देखाइरहेका छन् कि छैनन्? यस्ता प्रश्नहरूको जवाफ खोज्नु नै संविधान दिवस मनाउने सार्थकता हो।
संविधान दिवसले जनतालाई आफ्नो अधिकारबारे सचेत गराउनु पर्छ।साथै,राज्यलाई आफ्नो कर्तव्य सम्झाउनु पर्छ।यदि संविधान केवल किताबका पानामा सीमित रह्यो भने यसको मूल्य र मान्यता हराउँछ।
लोकतन्त्रलाई सबल बनाउन संविधानको भूमिका
लोकतन्त्र केवल निर्वाचनमा सीमित हुँदैन।यो सामाजिक न्याय, समानता, सुशासन र उत्तरदायित्वमा निहित हुन्छ।संविधानले यी सबैका लागि आधार तयार गरेको छ।तर जनताले निरन्तर सचेत आवाज उठाउनु पर्नेछ।नागरिक समाज,पत्रकारिता र सचेत नागरिकले संविधान कार्यान्वयनमा निगरानी भूमिका खेल्नुपर्छ।
आगामी चुनौती र सम्भावना
१.संविधान संशोधनको आवश्यकता : संविधान स्थिर कागज होइन,समय अनुसार परिमार्जन योग्य दस्तावेज हो। मधेश,थारू र अन्य समुदायको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ।“जेन जी”पुस्ताको आन्दोलन पनि संविधानको भावना अनुसार राजनीतिक दलहरुलाई चल्न समेच गराउने अभियान हो ।
२.संघीयताको सबलीकरणःप्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन वित्तीय र कानुनी स्पष्टता दिनुपर्छ। संघ,प्रदेश र स्थानीय सरकार बीच सहकार्य र विश्वास कायम गर्न आवश्यक छ।
३.सुशासन र जवाफदेहिता : भ्रष्टाचार नियन्त्रण,नीति निरन्तरता र जवाफदेहिताले मात्र संविधानको आत्मा बलियो हुन्छ।
४.नागरिक चेतना :संविधानलाई जीवन्त बनाउन नागरिकले आफ्नो अधिकारबारे सजग हुनुपर्छ र राज्यलाई निरन्तर दबाब दिनुपर्छ।
निष्कर्ष :
संविधान दिवस नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण माइलस्टोन हो।यसले हामीलाई संघर्ष,बलिदान र उपलब्धि सम्झाउँछ।तर संविधानलाई केवल उत्सव मनाउने साधन नभई जीवन्त दस्तावेजका रूपमा कार्यान्वयन गर्न सक्नुपर्छ।संविधानले हामीलाई संघीय लोकतान्त्रिक गणतन्त्र,मौलिक अधिकार,समावेशीता र समानता दिएको छ।तर यसलाई कार्यान्वयन गर्ने जिम्मा राज्यका अंग, राजनीतिक दलहरु र नागरिक सबैको काँधमा समान रूपले पर्छ।
अन्ततःसंविधान दिवसले हामीलाई लोकतन्त्र केवल कागजमा होइन,व्यवहारमा सुनिश्चित गर्नुपर्ने मूल्य हो। संविधानलाई जगेर्ना गरेर मात्र हामीले समान,न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सक्छौँ।भन्ने स्मरण गराउँछ ।

सम्बन्धित समाचार