लालबन्दीमा माओवादी केन्द्र र एकीकृत समाजवादी विच तालमेल,कांग्रेसकाे उम्मेदवारी फिर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१६ गते   २३३८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा आगामी बैशाख ३० गते हुने स्थानिय निकायकाे निर्वाचनमा   नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी विच चुनावी तालमेल हुने भएकाे छ । 
माओवादीले केन्द्रले नगर प्रमुख र एकीकृत समाजवादीले उप प्रमुख लिने गरी चुनावी तालमेल भएको हो । अब माओवादी केन्द्रबाट नगर प्रमुख पदमा प्रल्हाद बुढाथोकी र उप प्रमुख पदमा एकीकृत माजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए । तर शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता बोलाएर चुनावी तालमेलको निर्णय गरेका नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटि सचिव राजन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।
माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता लिएका छन् ।
लालबन्दीमा यि दुई पार्टीबीच मनोनयन दर्ता अघि नै चुनावी तालमेलबारे बारम्बार छलफल भएपनि कुनै सहमती हुन सकेको थिएन् । अन्तिम समयमा आएर दुवै पार्टीका नेताहरुले मेयर, उपमेयरमा चुनावी तालमेलको निर्णय गरेका हुन् ।
त्यसैगरी  नेपाली कांग्रेस केन्द्रीय कार्यालयले लालबन्दी नगरपालिकाका प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारी काे उम्मेदवारी फिर्ता भएको सुचना जिल्ला निर्वाचन अधिकृतकाे कार्यालय  सर्लाहीलाई पठाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech