नेकपा(माओवादी केन्द्र)का नेता स्व.महेन्द्र श्रेष्ठको २५ औँ स्मृति दिवसका अवसरमा १ सय ६७ जना सहिद परिवारलाई अभिनन्दन गरिएको छ । शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसन सिन्धुलीले बिहीबार सिन्धुलीमाढीमा आयोजना गरेको स्व.नेता श्रेष्ठको २५ औँ स्मृति दिवसको अवसरमा १ सय ६७ जना सहिद परिवारलाई अभिनन्दन गरिएको स्व.नेताका छोरा महेश श्रेष्ठ(कृतिक)ले जानकारी दिए ।
स्व.नेता श्रेष्ठकी पत्नि निर्मला श्रेष्ठको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सचिव राम कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल (राजन),नेपाल समाजवादी पार्टी(नेसपा)का सह अध्यक्ष तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ,माओवादी केन्द्रका केन्द्रिय सदस्य महेश्वर दाहाल र बागमती प्रदेश सदस्य तथा सांसद शुष्पा भुजेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सचिव कार्कीले शहिदको बलिदानबाट स्थापित गरिएको व्यवस्था व्यवस्थित गर्न नसकिएको बताए ।उनले नेपाल कम्युनिष्ट पार्टीको मुद्धा र एजेण्डालाई माओवादी केन्द्रकै कार्यकर्ताले बिर्सिएको बताए ।शहिदले देखाएको बाटो नै परिवर्तन हुन थालेको महसुस भएको केन्द्रीय सचिव कार्कीको भनाई छ ।
स्व.श्रेष्ठको २०५५ सालमा किलोशेरा टु अप्रेसनमा ओखलढुङ्गाबाट गिरफ्तार गरि ९ दिन पछि सिन्धुली र उदयपुरको सिमाना खोक्सामा गोली हानी हत्या गरिएको थियो ।कमलामाई नगरपालिका ४ ढुङ्ग्रेबास निवासी स्व.श्रेष्ठले पार्टी र आन्दोलनमा खेलेको भुमिका सदैव अमर रहेको शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसन सिन्धुलीका अध्यक्ष बिनोद देबकोटाले जानकारी दिए ।