तिहार नजिकिँदै गर्दा बजारमा भाइमसला (ड्राइ फ्रुट्स)को व्यापार बढ्न थालेको छ। भाइटीकाको दिनमा सप्तरंगी टीका लगाइ दिएपछि दिदी बहिनीले दाजुभाइलाई भाइमसला नरिवल,काजु,बदाम,ओखर,मिश्री,दालचिनी,किसमिस,पिस्ता लगायतका प्रकारहरु दिने प्रचलन छ ।सोही अनुसार उपभोक्ताले अहिलेदेखि नै भाइ मसला किन्न थालेका छन्।आजदेखि यस वर्षको तिहार सुरु हुदैछ ।१८ गतेभाई टिका भएपनि अहिलेदेखि नै उपभोक्ताले तिहारका लागि आवश्यक पर्ने सामान खरिद गर्न सुरु गरेका छन् ।
तिहारमा बढी मात्रामा भाइमसला बिक्री हुने गर्छ। सर्लाहीका बजारमा भाइमसला खरिद गर्ने उपभोक्ताहरुको भिड लागेको छ।पछि भिड हुने भएकाले अहिलेदेखि नै सामान खरिद गर्न सुरु गरिएको सर्लाहीका बजारमा तिहारका सामानहरु खरिद गर्न आएकी दिपिका तामाङले बताईन् ।तिहारको भाइ मसला किन्नु नै पर्ने र पछि भिडभाड हुने गरेकाले पनि सामान खरिद गरेको उनको भनाइ छ । तर व्यापारीहरुले भाइ मसलाको मूल्य बढाएका कारण आफुहरु मारमा परेको अर्की उपभोक्ताले बताईन् ।
लालबन्दी नगरपालिका ७ मा सञ्चालिथ डाली मार्टका सञ्चालक अर्जुन रायमाझीले तिहार नजिकिँदै गरेकाले पनि भाइ मसलाको व्यापार बढ्दै गएको बताए।उनका अनुसार सुकुमेल र काजुको मूल्य बढे पनि अन्य भाइ मसलाको मूल्य भने गत वर्षकै जस्तै रहेको छ ।भाइमसला तिहारका बेला बढी बिक्री हुने चिज हो,व्यापार बढ्दै गएको छ उनले भने ।व्यवसायीका अनुसार बजारमा काजु प्रतिकिलो रु एक हजार आठ सय छ,भने बदाम प्रतिकिलो एक हजार चार सय,पेस्ता प्रतिकिलो एक हजार छ सय,किसमिस प्रतिकिलो पाँच सय,नरिवल प्रतिकिलो पाँच सय,खुर्पानी प्रतिकिलो आठ सय,अन्जिर प्रतिकिलो एक हजारछ सय,ल्वाङ प्रतिकिलो एक हजार सात सय,सुकमेल प्रतिकिलो तीन हजार,अलैँची प्रतिकिलो एक हजार दुई सय,काँचो बदाम,मिश्री,दालचिनी लगायत सबैको मूल्य करिब २० प्रतिशत बढेको पाइएको हो।
सबैभन्दा बढी काजु र सुकमेलको मूल्य बढेको व्यापारीहरुको भनाइ छ।सबै सामान विदेशबाट आयात हुने गर्छ,थोक व्यापारीले बाहिरबाट मूल्य बढेर आएको भन्ने गरेको उपभोक्ताहरुको भनाई छ ।नेपालमा प्रयोग हुने भाइमसला तिहारका लागि भनेर विभिन्न देशबाट आयात हुने गरेको छ।नेपालमा भाइ मसलाजन्य ड्राइ फ्रुट्स भारत,चीन,भियतनाम,अमेरिका,इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट आयात हुने गरेको व्यापारीहरु नै बताउँछन् ।तिहारमा झिलिमिली बत्ती,पाला,लक्ष्मीपूजाका सामान,भाँडावर्तन,सेल पकाउनका लागि कराहीको कारोबार बढी हुने गर्छ।तिहारमा उपहार दिनका लागि ढाका टोपी,कपडासँगै मिठाईको बिक्री पनि धेरै हुने गरेको छ । तिहारमा बढी मिठाई खपत हुने हुँदा व्यवसायीले तिहार लक्षित मिठाई बनाउन थालि सकेकाछन् ।