Close This

राष्ट्रियसभाबाट लिम्पियाधुरासहितको नक्शा सर्वसम्मत पारित

पत्र पत्रिका    प्रकाशित: २०७७-३-४ गते   ३५१ पटक हेरिएको

राष्ट्रिय सभाले नक्शासम्बन्धी संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।विधेयकका पक्षमा सभाका ५८ मध्ये ५७ जनाले मतदान गरेका थिए । सबैले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका हुन् । राष्ट्रिय सभाको एक जना सिट रिक्त छ । बाँकी सबै मतदानमा सहभागि भएर विधेयकको पक्षमा मत दिएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे लगत्ते सबैले ताली बजाएर स्वागत गरेका थिए ।त्यसअघि राष्ट्रिय सभामा रहेका दलका शीर्ष नेताहरुले विधेयकमाथि आ–आफ्ना धारणा राखेका थिए । कसैले संशोधन पनि दर्ता गराएका थिएनन् । दफावार छलफल सकिएपछि कानुन न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव पेश गरेकी थिइन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको निशान छापमा रहेको नक्शा परिवर्तनका लागि सरकारले ल्याएको संशोधन विधेयक यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मत पारित गरेको थियो ।

राष्ट्रिय सभाले अब विधेयक पारित भएको सूचना प्रतिनिधि सभालाई दिनेछ । प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट पनि विधेयक पारित भएको सन्देश सुनाएर विधेयक सभाुमखबाट प्रमाणित गराई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै नेपालको संविधानमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप समेटिनेछ ।गत जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्शा जारी गरेको थियो ।www.imagekhabar.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech