सर्लाहीको हरिवन नगरपालिका २ मा व्यावसायीक रुपमा बयर खेती सुरु भएको छ।हरिवन नगरपालिका २ का रामपुकार महतोले करिब चार कठ्ठामा विगत करिब ३ वर्ष पहिलाबाट सुरु गरेका बयर खेती अहिले लटरम्म फलेको छ।पहिलो वर्ष सामान्य फलेपनि यस वर्ष राम्रो फलेको र करिब ४ कठ्ठामा एक सय ४४ वटा बोट बयर लगाएका महतोले यस वर्ष करिब ३० क्विन्टल बयर उत्पादन हुने अनुमान गरिएको महतोले बताए । फागुनमा टिप्न मिल्ने बयर प्रतिकिलो रु एक सय ५० देखि रु दुई सय सम्ममा बिक्रि हुने गरेको महतोले बताए।
उनले थपे म पहिला तरकारी देती गर्थेँ,निकै झण्झट हुन्थ्यो अहिले किराना पसल पनि चलाएको छु बयर खेती पनि गरेको छु।अरु कृषि कर्मको तुलनामा यो खेती निकै हसज रहेछ ।बयर खेती गर्न मौसम र वातावरण, माटो,प्रविधि र बिरुवा,सिंचाई र रोग तथा कीराको व्यवस्थापनमा ध्यान दिनपर्ने कृषि प्राविधिकहरु बताउँछन्।बयरले तेस्रो वर्षदेखि राम्रो फल दिन सुरु गर्ने र एउटा रूखमा वार्षिक ५० देखि ८० किलो बयर फल्ने प्राविधिकहरुको भनाई छ ।बयरको बजार मूल्य राम्रो भएकाले यो व्यवसायिक रूपमा पनि फाइदा जनक रहेको छ।
बयरमा भिटामिन सि,प्रोटीन र क्लोरोजेनिक एसिड जस्ता पोषक तत्व हुने भएकाले यसलाई स्वास्थ्यका लागि फाइदाजनक मानिने चिकित्सकिहरु बताउँछन्।महतोले आफ्नै घर नजिकैको आफ्नै जमिनमा बयरका साथै स्याउ र अमला पनि रोपेका छन् ।