मधेस प्रदेशका चार जिल्लाका सात स्थानमा मंसिर १६ मा उप निर्वाचन

381 Shares

मधेश प्रदेशका चार जिल्लाका सात स्थानमा आगामी मंसिर १६ गते हुने स्थानीय तहहरुको उप निर्वाचन हुने भएको छ।आठ जिल्ला रहेको मधेश प्रदेशको सप्तरी,धनुषा,महोत्तरी र रौतहटका सात स्थानमा मंसिर १६ गते उप निर्वाचन हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।आयोगका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४,धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १,महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २,रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७,रौतहटको राजपुर नगरपालिका वडा नम्बर ६  र बाराको गढीमाई नगरपालिका वडा नम्बर ८ मा  मंसिर १६ मा उपनिर्वाचन हुने भएको हो ।
देशभरका स्थानीय तहहरुमा रिक्त विभिन्न ३९ पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ।जिल्ला समन्वय समिति प्रमुखसहित स्थानीय तहका पदाधिकारीहरुको पदावधि समाप्त हुन एक वर्षभन्दा बढी समय बाँकी छँदै कुनै कारणले पद रिक्त भएमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ।सोही नियमानुसार आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुने भएको हो ।  
निर्वाचन आयोगको विवरण अनुसार एक जना नगर प्रमुख, एक जना नगर उपप्रमुख र २१ जना वडाध्यक्ष तथा दुई जना गाउँपालिका अध्यक्ष,तीन जना उपाध्यक्ष,नौ जना वडाध्यक्ष गरी देशभर कुल ३७ र दुई जिल्ला समन्वय समिति (जिसस) प्रमुखको पद गरी ३९ पद खाली रहेका छन्। सबैभन्दा धेरै नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुका पद रिक्त छन्।२०७९ वैशाखमा भएको निर्वाचन अनुसार यसअघि कांग्रेसले जितेका २३,एमालेले जितेका सात,माओवादी केन्द्रले जितेका छ र जसपा नेपालले जितेका एक ठाउँमा उपनिर्वाचन हुँदै छ। 
उपनिर्वाचनका लागि केही दलले उम्मेदवार छान्ने काम शुरु गरिसकेका छन् भने अन्य दलमा कहाँ कसलाई उम्मेदवार बनाउने भन्नेबारे व्यापक छलफल भइरहेको छ।सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा(एमाले)एक्लाएक्लै लड्दा प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)लगायतका साना दलहरू गठबन्धन गरेर चुनाव लड्ने मनस्थितिमा रहेका छन्। त्यसका लागि स्थानीय परिस्थितिको विश्लेषण गरिरहेका छन् । 

सम्बन्धित समाचार