बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।रु ७८ हजार घुस(रिसवत)सहित पक्राउ परेका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह विरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्धा दायर गरेको हो ।निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले सेवाग्राहीसँग विल भुक्तानी बापत रु ७८ हजार घुस(रिसवत)रकम लिइसकेको अवस्थामा गत कार्तिक ७ गते कलैया उपमहा नगरपालिका ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको टोलीले नियन्त्रणमा लिएको थियो।
अख्तियारको अनुसन्धानको सिलसिलामा निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले सो रकम घुस(रिसवत)वापत लिएको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सोहि रकम बराबरको बिगो कायम हुने गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय समेत गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी गर्दै विशेष अदालत,काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस(रिसवत) सहित नियन्त्रणमा लिएका मानिस तथा भ्रष्टाचार सम्बन्धी मुद्धाको हकमा आवश्यक कार्बाहीका विशेष अदालतमा आरोप पत्र दायर प्रचलन रहेको छ ।