नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्य अशोक कुमार यादव तथा उनको परिवार माथि स्थानीय प्रहरीले गरेको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाएको छ।नेकपाले एक विज्ञप्ती जारी गर्दै ट्याक्टर र ट्रकबीच भएको सामान्य सवारी दुर्घटनालाई आधार बनाएर प्रहरीले केन्द्रीय सदस्य यादवको घर र गाउँमा पटक–पटक छापा मार्ने,परिवारका सदस्यलाई त्रसित बनाउने तथा घटनालाई अतिरञ्जित गर्दै मुद्दालाई अनावश्यक रूपमा अघि बढाउन खोजिएको आरोप लगाएको हो।
यस्ता गतिविधिले कानुनी प्रक्रिया भन्दा बाहिर गएर परिवारमाथि मानसिक दबाब सिर्जना गरेको दाबी गर्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ।घटनाको सत्यतथ्य छानबिन गरी दोषी देखिएका माथि कानुन अनुसार कारबाही हुनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको नेकपा केन्द्रीय कार्यालयका मुख्य सचिव दिनेश थापा मगरको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
साथै,घटनालाई नियोजित रूपमा उचालेर केन्द्रीय सदस्य यादव र उनको परिवारलाई अनावश्यक दुःख दिने तथा पूर्वाग्रही ढङ्गले आरोप लगाउने कार्य रोक्न सम्बन्धित निकायसँग नेकपाले आग्रह गरेको छ।नेकपाले प्रहरी प्रशासनलाई उक्त घटनाको निष्पक्ष,कानुनसम्मत र पूर्वाग्रह विहीन अनुसन्धान गर्न माग गर्दै अनुसन्धान प्रक्रियामा नेकपाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।