Close This

द्वन्द्वकालका गम्भीर घटनालाई माफी दिन नसकिने सर्वोच्चको ठहरपछि पूर्वमाओवादी खेमामा हलचल

पत्र पत्रिका    प्रकाशित: २०७७-१-१८ गते   २९० पटक हेरिएको

द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनालाई माफी दिन नसकिने भन्दै सर्वोच्चले आफ्नो पुरानो फैसलालाई सदर गरेपछि पूर्वमाओवादी खेमामा हलचल मच्चिएको छ ।

तत्कालीन माओवादीका नेताहरु, नेतृत्वकर्ता र शाही सेनाका अधिकृतमाथि द्वन्द्वककालमा लागेका गम्भीर अपराधमा अब अदालतले नै छिनोफानो गर्ने भएपछि पूर्वमाओवादीका नेताहरुको राजनीतिक भविष्यमाथि प्रश्न उठेको छ ।

वैशाख १४ गते सर्वोच्चको बृहत् पूर्णइजलासले द्वन्द्वकालमा भएका गम्भीर अपराधका मुद्दाहरुलाई माफी दिन नसकिने भन्दै आफ्नो पुरानै फैसलालाई सदर गर्दै सरकारको तर्फबाट गएको पुनरावेदन खारेज गरेको थियो ।

संक्रमणकालीन न्याय भन्दै सरकारले द्वन्द्वका क्रममा भएका सबैखाले घटनालाई सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत् टुंग्याउने गरी बनाएको विवादास्पद ऐन संशोधनकै प्रक्रियामा रहँदा सर्वोच्चले मुद्दाको प्रकृति आयोगले टुंग्याएपनि गम्भीर अपराधमा अदालतले नै न्यायिक प्रक्रियाबाट टुंग्याइने फैसला गरेको हो ।

आयोगमा दर्ता भएका करिब ६२ हजार द्वन्द्वकालीन घटनाका उजुरीहरुमा छानबिन गरिरहेका अवस्थामा तत्कालीन माओवादी वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलका नेता र सेना तथा प्रहरीका अफिसरविरुद्ध गम्भीर अपराधका मुद्दाहरु अदालतबाटै चल्नेछ ।

तर, कानुन बन्यो भन्दैमा सरकारको नेतृत्व गरिरहेकाविरुद्ध मुद्दा चलाउन भने अदालतलाई सकस हुने देखिन्छ ।तर, नेकपाभित्रको राजनीति उत्कर्षमा पुगेको अहिलेको अवस्थामा सर्वोच्चबाटै यस्तो फैसला आउनु र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रोटोकल’ मिचेर प्रधानन्यायाधीशलाई रातारात भेट्नुले पूर्वमाओवादी पक्षलाई दबाबमा राख्न खोजेकोजस्तो देखिन्छ ।

शान्ति–सम्झौताका पक्षधरले द्वन्द्वपीडितलाई अनेक आश्वासन दिने तर समाधानको बाटो खोज्नुभन्दा पीडितकै नाममा राजनीतिक फाइदा लिइरहँदा द्वन्द्वका घाउ बल्झिरहेका छन् ।अहिले सर्वोच्चको आदेश र प्रधानन्यायाधीशबीचको हिमचिम कत्तिको अर्थपूर्ण हो, त्यो समयले नै बताउला ।

तर, अब संशोधन हुने आयोगसम्बन्धी ऐन भने द्वन्द्वका घटनाको निरुपणमूखी हुन जरुरी छ ।हैन भने द्वन्द्वका नाममा सर्वसाधारणलाई प्रयोग गरिरहने र शासनसत्तामा पकड जमाइरहने अनि जनता भने सधैं त्याग र बलिदानको सिकार भइरहने प्रवृत्ति कदापि अन्त्य हुँदैन ।इमेजखबर

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech