सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ सखुअवा टोलबाट अवैध रुपमा भारत तर्फ जान लागेको अवस्थामा अन्दाजी रु १९ लाखको चाईनिज लसुन सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ । ब्रम्हपुरी गाउँपालिका ५ सखुअवा टोल हुँदै नेपालबाट भारत तर्फ जान लागेको विल विजक नभएको करिब रु १९ लाखको साँढे नौ टन चाईनिज लसुन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ब्रम्हपुरी गाउँपालिका ५ सखुअवा टोल हुँदै नेपालबाट भारत तर्फ जान लागेको विल विजक नभएको करिब साँढे नौ टन चाईनिज लसुन सहित प्रदेश ०२ ०४ ००१ ख ००६९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिइएको ट्रक,ट्रकका चालक र लसुन आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
पछिल्लो समय सिमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा बोर्ड(बिओपी) तथा गुल्महरुका साथै सिमा क्षेत्रमा रहेका प्रहरी चौकीहरुले कमिसन असुलेर भन्सार छलीमा सहजता प्रदान गरेका सहजै आंकलन गर्न सकिन्छ।सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मी तथा कार्यालयहरुले कमिसन असुलेर छाडेका सामानहरु माथि रहेका सुरक्षाकर्मीहरुका साथै कार्यालयहरुले नियन्त्रणमा लिएपछि मधेश प्रदेशमा सुरक्षाकर्मीहरुको मिलेमतोमा भन्सार छली भएको प्रष्ट भएको जानकारहरु बताउँछन्।
सर्लाहीको निकै चर्चामा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन नगरका प्रमुख हिमाल भण्डारीलाई केही दिन पहिला जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले मौखिक रुपमा स्पष्टिकरण सोधेका स्रोतले जनाएको छ।सिमा क्षेत्रमा रहेका प्रहरी कार्यालयहरु र त्यहाँका प्रमुखहरु कमिसन बुझेर मौन बसेका कारण त्यहाँबाट अवैध रुपमा नेपाल प्रवेश गरेका विभिन्न किसिमका सामानहरु सिमा क्षेत्र भन्दा माथि रहेका प्रहरी कार्यालयहरुले नियन्त्रणमा लिएपछि सिमा क्षेत्रमा रहेका सुरक्षा कार्यालयहरुका साथै प्रमुखहरुलाई तनाव भएको पाइएको छ ।
पछिल्लो समय सिमा क्षेत्रबाट अवैध रुपमा भन्सार छली नेपाल प्रवेश गरेका विभिन्न सामानहरु सिमा क्षेत्र भन्दा माथि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले नियन्त्रणमा लिने गरेको पाइएको छ।जसबाट पनि सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरु कै मिलेमतोमा भन्सारछली हुने गरेको पुष्टि हुने जानकारहरु बताउँछन्।