सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि स्थलगत अध्ययन थालिएको छ।काठमाडौं विश्वविद्यालय (केयू) को प्राविधिक टोलीले हरिहरपुरगढी गाउँपालिका ३ गुर्जीमा इलेक्ट्रोलाईसिस प्रविधिमा आधारित रसायनिक मल कारखाना स्थापनाका लागि पूर्व सम्भाव्यता अध्ययन थालेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका र काठमाडौं विश्व विद्यालय बीच गत भदौमा भएको सम्झौता अनुसार रासायनिक मल कारखाना स्थापनाका लागि अति आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन,नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले स्थलगत अध्ययन थालेको हो ।वार्षिक करिब दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि गाउँपालिकाले जग्गा,बिजुली र पानी उपलब्ध गराउने सम्झौता भएको हरिहरपुरगढी गाउँपालिकाका सूचना अधिकारी मिलन श्रेष्ठले बताए ।
उनका अनुसार उद्योग स्थापनाका लागि हरिहरपुरगढी गाउँपालिकास्थित बागमती नदी किनारको तीन सय ८६ बिघा जग्गा समेत छनोट गर्ने कार्य भइसकेको र अब प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू (हाइड्रोजन, नाइट्रोजन र कार्बन डाइअक्साइड) को उपलब्धताका विषयमा केयूले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि थप प्रकृया अघि बढ्ने छ ।
केयूले गाउँपालिकामा प्राविधिक र आर्थिक रूपमा रासायनिक मल कारखाना स्थापनाको उपयुक्तता बारे विस्तृत अध्ययन गर्न करिब तीन महिना लाग्ने र रसायनिक मल कारखाना स्थापना सम्बन्धी पूर्व सम्भव्यता अध्ययन प्रतिवेदन तयार पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।उक्त अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले समेत स्वीकृत जनाएको केयूले जनाएको छ । वार्षिक करिब दुई लाख टन क्षमताको रसायनिक मल कारखाना स्थापनाका लागि थाइल्यान्डको एक निजी कम्पनीले लगानी गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाले जनाएको छ ।
बागमती सरकारको मन्त्रिपरिषदका तत्कालिन मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले २०७९ चैत्रमा हरिहरपुरगढी गाउँपालिकामा रसायनिक मल कारखाना स्थापनाका लागि निर्णय गरी तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई कारखानाको फाइल हस्तान्तरण गरेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले बताए ।
प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि करिब रु एक खर्ब तीन अर्ब लाग्ने अनुमान गरिएको छ।अध्ययनका क्रममा प्राकृतिक ग्यासबाहेक वाटर इलेक्ट्रोसिस प्रविधि र थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना पनि विकल्प हुन सक्ने र त्यसका लागी रु एक खर्ब ८९ अर्ब लाग्ने बताइएको छ ।