लालबन्दी नगर वाङ्मय परिषद्ले तीन जना स्रष्टालाई सम्मान तथा चारवटा कृति विमोचन गरेको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानका कूूलपति भूपाल राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष प्रदान गर्ने“लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार”यो वर्ष पत्रकार अखण्ड भण्डारीको“बोरा”उपन्यासलाई प्रदान गरिएको लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष अच्युत अधिकारीले जानकारी दिए ।उनका अनुसार परिषद्ले गठन गरेको पुरस्कार छनौट समितिले विभिन्न कृतिमध्ये भण्डारीको उपन्यासलाई उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि सिफारिस गरेको थियो ।
अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक पत्रिकाका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूूलपति राई,लालबन्दी नगरपालिकाका नगर प्रमुख एवम लालबन्दी नगर वाङ्मय परिषद्का प्रमुख संरक्षक बासुदेव अधिकारी र लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने लगायतले नगद रु ५० हजार तथा सम्मान–पत्रसहित सम्मान गरेका लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।
यस्तै “साहित्यिक सहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार”काठमाडौं महानगरपालिका ५, गहना पोखरी निवासी वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ।घिमिरेलाई पनि रु ५० हजार नगद तथा सम्मान–पत्रसहित सम्मान गरिएको लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अधिकारीले बताए ।त्यसैगरी“स्थानीय प्रतिभा पुरस्कार”लालबन्दी नगरपालिका ६, निवासी शंकर श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठलाई नगद रु २५ हजार र सम्मान–पत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।लालबन्दीमा आयोजित कार्यक्रममा चारवटा कृति समेत विमोचन गरिएको छ।सुुमन घिमिरेको कविता सङ्ग्रह“प्यालासँग नयाँ कविता”,घिमिरेकै लालबन्दीका नगर प्रमुख अधिकारीको जीवनीमा आधारित रहेर लेखिएको “समाजसेवामा बासुदेव अधिकारी”,विवश पौडेलको गजलसङ्ग्रह“धर्तीको जुन”र देवराज पौडेलको कथासङ्ग्रह “मानवता हराएका सहरहरु”को विमोचन गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला र गजलकार डा.घनश्याम न्यौपाने विशिष्ठ अतिथि रहेको कार्यक्रममा कवि भूपिन खड्का,कवि निमेश निखिल,कवि प्रतिक घिमिरे, गजलकार सुरेश सुवेदी,कवि निरन्जना चन्द,गजलकार भाष्कर काजी,कवि रमेश भट्टराई,कवि पूर्णकला घिमिरे,कवि यस लामा,गजलकार सुमित्रा आचार्यलगायतका कवि तथा कवयित्रीहरुले आ–आफ्नो सिर्जना वाचन गरेका आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।