सर्लाहीको बरहथवा स्थित रहेको नगर अस्पताल बरहथवामा शल्यक्रिया (अप्रेसन) सहितको प्रसूति सेवा सुरु भएको छ।प्रसूति तथा स्त्री रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट तथा अन्य आवश्यक प्राविधिक जनशक्तिको नियुक्ति र उपकरणको प्रवन्ध मिलाई शल्यक्रिया (अप्रेसन) सहितको प्रसूति सेवा सुरु भएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिईन् ।
उनका अनुसार नगर अस्पतालको बर्थिङ सेन्टरबाट यसअघि सामान्य किसिमको प्रसूति सेवा मात्र प्रदान भई रहेकोमा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरि सकेपछि शल्यक्रिया (अप्रेसन) सहितको प्रसूति सेवा सुरु भएपछि बरहथवा क्षेत्रबासीलाई निकै राहत भएको छ ।
अब बरहथवा नगरपालिकासहित छिमेकी बागमती नगरपालिका,बसबरिया गाउँपालिका, धनकौल गाउँपालिका र हरिपुर नगरपालिका लगायतका पालिकाका गर्भवतीले नगर अस्पताल बरहथवामै निःशुल्क रुपमा शल्यक्रिया सहितको प्रसूति सेवा प्राप्त गर्न सक्ने बरहथवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
शाखाका अनुसार नगर अस्पतालबाट स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न पछिल्लो पटक नगरपालिकाबाट नियुक्त गरी विशेषज्ञ सहित छ जना चिकित्सक,अन्य स्वास्थ्यकर्मी र प्राविधिकहरुले सेवा प्रदान गरिरहेका छन् ।