सर्लाहीको बलरा नगरपालिकामा मंगलबारबाट जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरिएको छ।सर्लाही जिल्ला मै पहिलो पटक बलरा नगरपालिकाले विज्ञान प्रदर्शनी मेलाको आयोजना गरिएको बलरा नगरपालिकाका नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीको रचनात्मकता,वैज्ञानिक सोच र नवीनतम आविष्कारको विकास र विस्तार गर्ने उद्देश्यले युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौंसँगको सहकार्यमा बलरा नगरपालिकाले मंगलबार अर्थात मंसिर १८ गते र बुधबार अर्थात मंसिर १९ गते दुई दिने आधारभूत तथा माध्यमिक तहको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गरिएको हो ।
बलरा नगरपालिका ८ स्थित रहेको जनता नमूना मा.वि गडहीया डुमरियाको प्राङ्गणमा हुने विज्ञान प्रदर्शनी मेलामा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनौट गरेको शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सार्लहीका प्रमुख तारापति खरेलले बताए।उनका अनुसार प्रदर्शनीमा स्टल राख्नका लागि जिल्ला भित्रका २० मध्य १४ स्थानीय तहका ३७ वटा विद्यालय छनौट भएका छन् ।
मेलामा उत्कृष्ट ठहर हुने विद्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिएको युनेस्काका सहायक महा सचिव रामेश्वर प्रसाद यादवले बताए।उनका अनुसार माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयलाई रु ३० हजार, द्वितीय हुने विद्यालयलाई रु २५ हजार,तृतीय हुने विद्यालयलाई रु २० हजार र अन्य दुईवटा विद्यालयलाई रु १० हजारका दरले सान्त्वना पुरस्कारको व्यावस्था गरिएको छ ।
त्यस्तै आधारभूत तह अन्तर्गत प्रथम हुने विद्यालयलाई रु १५ हजार,द्वितीय हुने विद्यालयलाई रु १० हजार,तृतीय हुने विद्यालयलाई रु सात हजार र अरु दुईवटा विद्यालयलाई रु चार हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।विज्ञान प्रदर्शनी मेला सञ्चालन गर्न बलरा नगरपालिकाले रु १५ लाख र युुनेस्कोले रु पाँच लाख गरी रु २० लाख बजेट विनियोजन गरेका बलरा नगरपालिकाको शिक्षा शाखाका पवन महत्तोले बताए। संघीय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मंगलबार प्रदर्शनीको उद्धघाटन गर्ने छिन् ।