मिथिलामा आज विवाह पञ्चमी पर्व मनाईदै

375 Shares

भगवान सीताराम विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ।सीताराम विवाह पञ्चमी महोत्सवको मूल समारोह आज रहेको छ ।आज जानकी मन्दिरमा विशेष पूजा हुनेछ । त्यसपछि मन्दिरको सरसफाई गरिनेछ।मन्दिरमा दर्शन पूजा निरन्तर चलिरहनेछ । दिउँसो जानकी मन्दिरबाट स्वयम्वरका लागि माता सीताको डोला बाजागाजासहित रंगभूमि मैदान(बाह«बिघा)का लागि प्रस्थान गर्नेछ ।जानकी मन्दिरबाट डोला प्रस्थान गरेसँगै राम मन्दिरबाट फरक मार्ग भएर भगवान रामको डोला स्वयम्वरका लागि रंगभूमि मैदान पुग्नेछ । विवाह महोत्सवको दिन रंगभूमि मैदानमा भगवान सीतारामको स्वयम्वर हुने चलन छ ।
त्रेता युगमा सीता स्वयम्वरको दर्शन गर्न सबै भगवान विभिन्न रुप धारण गरी जनकपुरधाममा आएको रामायणमा वर्णन गरिएको छ । भगवान रामको डोलालाई भगवान जानकीको डोलाले परिक्रमा गर्छ ।पुष्पवृष्टि गर्दै श्रद्धालुहरुले जयजयकार गर्छन्।त्रेता युगमा देवताहरु आएको संस्मण गर्दै जनकपुरधाममा रहेका अधिकांश मठमन्दिरबाट भगवानहरुलाई रथ, डोलामा सजाएर बाजागाजा सहित रंगभूमि मैदानमा ल्याइन्छ ।
भगवान सीतारामको स्वयम्वर सम्पन्न भएपछि राम जानकीको डोलासहित विभिन्न मन्दिरका डोला, झाँकीहरु सहितको शोभायात्रा नगरपरिक्रमा गर्दै जानकी मन्दिरमा पुग्नेछ ।भगवान जानकीको डोला जानकी मन्दिर परिसरमा पुगेपछि वैवाहिक कार्यक्रम प्रारम्भ हुने उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए । मन्दिरको बाहिरी परिसरमा वैवाहिक कार्यक्रम अबेर रातिसम्म चल्नेछ । मिथिलाको परम्परा अनुसार भगवान सीतारामको विवाह सम्पन्न गरिनेछ । वैवाहिक कार्यक्रममा लाखौँ श्रद्धालुहरुको सहभागिता रहने छ ।
जनकपुरधामको प्रायःसबै चोक, सडक र सार्वजनिक स्थलहरुमा श्रद्धालुहरु बास बसेका छन् । भारतको अयोध्याबाट आएका जन्ती स्वयम्वर र वैवाहिक कार्यक्रममा सरिक हुनेछन् । अयोध्या राम मन्दिर ट्रष्टका सचिव चम्पत्त राय, विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र्रसिंह “पंकज” लगायत पाँच सय बढी सन्तमहन्तहरु जन्तीको रुपमा जनकपुरधाममा छन् ।
सीताराम विवाह महोत्सवको पाँचौ दिन बिहीबार भगवान जानकीको मटकोर गरिएको थियो । जानकी मन्दिरबाट जानकीको प्रतीकसहित शोभायात्रा पवित्र गंगासागर पुगेको थियो।हजाराँै श्रद्धालुहरुको सहभागिता रहेको मटकोर विधि मिथिलामा विवाहको पूर्व हुने अत्यन्त महत्वपूर्ण मानिन्छ।मटकोरमा मन्दिरका उत्तराधिकारी महन्तलगायत पुजारी र मन्दिरका सखीहरुले मिथिला परम्परा अनुसारको विधिविधान पूरा गरे।मटकोर पूजा सम्पन्न भएपछि मात्र मिथिलामा विवाह हुने चलन छ ।
साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला,तेस्रो दिन धनुष यज्ञ चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर पूजाको विधि बिहीबार सम्पन्न भएको छ।शुक्रबार विवाह उत्सव सम्पन्न भएपछि शनिबार रामकलेवा गरिनेछ। बेहुली पक्षको तर्फबाट जानकी मन्दिर परिसरमा अयोध्याबाट आएका जन्ती सहित सन्तमहन्त, श्रद्धालु भक्तजनहरुलाई विदाइ भोज गरिनेछ।रामकलेवा पछि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले अयोध्याबाट आएका जन्तीहरुलाई स–सम्मानसहित दक्षिणा दिएर विदाई गरिने बताइएको छ ।
हरेक पाँच वर्षमा अयोध्याबाट विशेष झाँकी, रथसहितको जन्ती आउने चलन छ । यद्यपि हरेक वर्ष विवाह महोत्सवमा सहभागिताका लागि अयोध्याबाट ठूलो संख्यामा साधुसन्त, श्रद्धालु भक्तजनहरु आउने गर्छन्।भगवान सीतारामको वैवाहिक कार्यक्रममा सहभागी हुन सबै लोकका देवदेवीहरु जनकपुरधाम आएको रामायणमा वर्णित छ। जन्ती सहित आएका महराज दशरथको स्नान र आवासको विशेष व्यवस्था गरिएको थियो ।
राजा दशरथ स्थान गर्ने सरोवर दशरथ तलाउ (महराज सागर) र त्यसको डिलमा दशरथ मन्दिर अझै विद्यमान छ।माता सीताको आवास सुन्दर सदनमा पनि वैवाहिक महोत्सवको आयोजन गरिएको छ।कमलानदीबाट मटकोर गरी माटो ल्याइएको महन्त नवलकिशोर शरणले बताए ।“कमलानदीबाट मटकोर गरी माटो ल्याइएको छ।”उनले भने, शुक्रबार विवाहोत्सव कार्यक्रम हुनेछ ।जनकपुरधामको प्रायःसबै मठमन्दिरहरुमा विवाह महोत्सवको अवसरमा विशेष भजन कीर्तनहरु ग्रिएको छ ।
जानकी मन्दिरमा सहनाई गुञ्जयमान छ।जनकपुरधाम नै विवाहमय बनेको छ।नगरको हरेक घरलाई झिलीमिली बनाइएको छ। संसारमै जनकपुरधाममा मात्र भगवान रामलाई गाली गर्दै मिथिलानीहरु विवाह उत्सव मनाइरहेका छन्।जनकपुरधाममा भगवान रामलाई गाली गर्दै मनोरञ्जन गराइँने चलन छ ।सो अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सम्बन्धित समाचार