Close This

१० दिनमा भुक्तानी दिने सहमती पछि अन्नपुर्ण उखेगको विवाद साम्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-३० गते   ३४९ पटक हेरिएको

सर्लाहीको धनकौलमा केही दिनदेखि जारी विवाद तत्कालका लागि समाधान भएको छ । सात बुँदे सहमति भएसँगै अन्नपूर्ण चिनी उद्योग धनकौलबाट चिनी लोड गरेर बजार पठाउन लाग्दा किसानले ट्रक नियन्त्रणमा लिएपछि विवाद सुरु भएको थियो । किसानहरुले उद्योगलाई वि.स. २०७० सालमा बिक्री गरेको उखुको करिब ४० करोड भुक्तानि नपाएसम्म चिनी बजार लान नदिने भन्दै ६ वटा ट्रक नियन्त्रणमा लिएका थिए ।
उखु उत्पादक किसानहरुले रोकेका मध्ये चार वटा ट्रकमा १ हजार ६ सय ८० बोरा चिनी लोड रहेको छ । स्थानिय प्रहरी कार्यालयमा रहेका ट्रक भित्रको चिनी मंगलबारबाट बजार लान दिने र चिनी बिक्रि वितरण गरेर क्रमागत रुपमा किसानहरुको भुक्तानी खातामा जम्मा गर्ने समहती भएपछि विवाद समाधान भएको हो ।
उद्योगले चिनी बिक्रि गरेको दुई दिनभित्र किसानको खातामा २५ लाख रुपियाँ जम्मा गर्ने र ट्रकमा रहेका चिनी बिक्री गरेपछि प्राप्त रकम १० दिनभित्र पुनः किसानको खातामा जम्मा गर्ने सहमति पछि विवाद साम्य भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
रकम भुक्तानि गर्दा अहिलेसम्म सबै भन्दा पहिले उखु बिक्री गरेका किसानलाई भुक्तानि गर्दै जाने निर्णय समेत भएको छ । छलफलमा भुक्तानि प्रणालीको कुनै पनि पक्षबाट उल्लङ्घन नगर्ने, उद्योग परिसर एवं उद्योगको काठमाण्डौंमा रहेको केन्द्रिय कार्यालयमा कुनै पनि किसिमको आन्दोलन नगर्ने र सबै पक्षबीच मेलमिलाप गरी शान्तिपूर्वक रहने सहमति भएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा स्थानिय जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, उद्योगका प्रतिनिधि र उखु किसानहरुका प्रतिनिधि सहभागी भएका थिए । चिनी बोकेका ट्रक नियन्त्रणमा लिएपछि उत्पन्न विवादपछि आइतवार झडप समेत भएको थियो भने झडपमा ११ जना घाईते समेत भएका थिए । किसानहरुबाट अघिल्ला वर्षहरुमा किनेको उखुको भुक्तानि गर्न नसक्दा अन्नपूर्ण चिनी उद्योग यस वर्ष सञ्चालननै हुन सकेन । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech