सर्लाही सहित मधेशमा बाक्लो हुस्सु लागेर चिसो बढ्यो

436 Shares

सर्लाहीमा शुक्रबारबाट बाक्लो हुस्सु लाग्न थालेसँगै चिसो बढ्न थालेको छ । शुक्रबार बिहान बाक्लो हुस्सु लागेर अत्यधिक शीत झरेको थियो।दिउँसो केहीबेर पारिलो घाम लागेपनि साँझबाट पुनःबाक्लो हुस्सु लागेर शित पार्न थालेपछि चिसो बढेको हो ।शुक्रबारबाट चिसो बढेसँगै अतिविपन्न र दिनहुँ मजदुरी गरेर पेट पाल्ने परिवारमा समस्या उत्पन्न हुन थालेको छ।तातो न्यानो कपडा नभएका परिवारलाई चिसो बढेसँगै कसरी न्यानो भएर बस्ने र चिसोबाट जोगिने भन्ने चिन्ता पर्न थालेको हो ।
यो मौसममा स–साना बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,अशक्त र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई चिसोजन्य स्वास्थ्य समस्या पर्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन्।अहिले चिसोसँगै धुलो,धुुँवाको प्रदुषणका साथै डेङ्गीको संक्रमण पनि उत्तिकै बढेको छ ।
यसैबिच बाक्लो हुस्सु लाग्न थालेसँगै सवारी दुर्घटनाको जोखिम बढेकाले सावधानी अपनाउन पैदलयात्री र सवारी चालकसँग जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले अनुरोध गरेको छ । बाक्लो हुस्सु लागेर बाटो पनि राम्रोसंग नदेखिने भएकाले दुर्घटनाको जोखिम बढ्ने भएकाले सावधानी उपनाउन सवारी चालकहरुका साथै यात्री र पैदलयात्रीहरुसंग अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले बताए ।त्यस्तै हुस्सु लाग्न थालेसँगै गोलभेँडा,लहरी,तोरी र आलु लगायतका तरकारी तथा बलफुल रअन्य बालीमा संक्रमण देखिने भन्दै किसानहरु चिन्तित भएका छन् ।

सम्बन्धित समाचार