Close This

फिक्कलको चुचुरोसम्म गाउँपालिकाद्धारा ट्रेकिङ्गको आयोजना 

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-१२ गते   ६१७ पटक हेरिएको

विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अवसरमा सिन्धुलीको सबै भन्दा अग्लो फिक्कलको चुचुरोसम्म ट्रेकिङ्गको आयोजना गरिएको छ । दिवसको अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फिक्कल गाउँपालिकाको अगुवाइमा ट्रेकिङ्गकोे आयोजना गर्न लागिएको हो ।
“सडक, शिक्षा, विजुली फिक्कल विकासको पूर्वाधार, कृषि, जडिबुटी र पर्यटन समृद्धिको मुल आधार”  भन्ने मुल लक्ष्य लिएको गाउँपालिकाले फिक्कल चुचुरोलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न ट्रेकिङ्गको आयोजना गरेको फिक्कल गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता राजु बरालले जानकारी दिनु भयो ।
विश्व पर्यटन दिवसको अवसरमा गाउँपालिकाले ट्रेकिङ् आयोजना गरेको र त्यसमा सहभागि हुन इच्छुक व्यक्तित्वहरुलाई सम्पर्क राख्न सामाजिक सञ्जाल मार्फत अनुरोध गरिएको प्रवक्ता बरालले बताउनु भयो ।
गाउँपालिकोको कार्यालय खाङ्साङ्बेसी देखि करिब १० किलोमिटरको उकालो यात्रापछि जिल्ला कै अग्लो चुचुरो फिक्कल पुग्न सकिन्छ । समुन्द्रि सतहदेखि ७ हजार ७ सय ७१ फिट उचाईमा रहेको फिक्कल सिन्धुलीकै उचाईमा रहेको पर्यटकिय गन्तव्य हो । यहाँबाट विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा लगायतका १४ वटा हिमश्रृङ्खलाको रमणिय दृष्य अवलोकन गर्न सकिने गाउँपालिकाकी उपाअध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।

साथै,  दक्षिणतर्फ रमणीय डडाकाडा एवं तराईको समतल फाँट पनि फिक्कलबाट सहजै नियाल्न सकिने गाउँपालिकाले जनाएको छ । महाभारत लेकमा पाइने महत्वपूर्ण जडिबुटीहरु, जङ्गली जनावर, लालिगुराँस लगायतका वनजङ्गलहरुको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech