सर्लाहीको लालबन्दी नगरपालिका ८ की सोनी पाख्रिन उपकप्तान भएको आईसीसी यू–१९ महिला टी–२० टोली केही साता पहिला भएको विश्वकपमा छनोट भएको छ ।नेपालको इतिहाँस रच्दै गतसाता पहिलो पटक आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा नेपाली टोलीले महत्वपूर्ण खेलमा यूएईलाई हराउँदै आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटको उपाधि हात पारेको थियो ।
खेलमा सर्लाहीको लालबन्दी नगरपालिका ८ की सोनीले ओपनर सना प्रविनसँग मिलेर साझेदारी बनाउँदै नेपाललाई आवश्यकता अनुसारको नतिजा ल्याउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।महोत्तरीको गौसालाकी कप्तान पुजा महतोजस्तै उनी पनि सिनियर टोलीबाट दुई खेल खेल्दा सकेकी बलिङबाट १ विकेट लिएकी खेलाडी हुन् ।यद्यपि धेरै खेल नखेलेको भएपनि सिनियर टोलीसँगको अभ्यास र सिनियर खेलाडीहरुबाट सिकेको कुराहरू उनी भित्र पूर्ण छ। त्यसैले उनलाई पुजाको सहायक भूमिकामा यू–१९ टोलीमा राखिएको थियो ।
“त्यो एकदम भावुक क्षण थियो,हामी सोच्नै सकिरहेंका थिएनौं”विश्वकपमा छनोट भएको क्षणबारे विश्वकपमा छनोट भएको टोलीकी उपकप्तान पाख्रिनले बताईन् ।उनले टिमले निकै राम्रो प्रदर्शन गरेर यो सम्भव भएको बताइन् ।“एकदमै सोचेजस्तै प्रतियोगिता भयो,प्रशिक्षकहरुले पनि राम्रो मेहेनत गराइ राखे।राम्रो खेल्यौं भने छनोट हुन सक्छौं भन्ने थियो ।सबैको मिहिनेत र एफर्टले देशको लागि उपलब्धि हासिल गर्दा निकै खुसी लागिरहेको छ।” उनले भनिन् ।
विश्वकपमा छनोट भएको त्यो पलको सम्झना गर्दै “हामीले १६ दशमलव दुई ओभरमा ८४ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो।अन्तिम क्षणमा दुई रन चाहिएको बेला सना प्रविनले खेलेको बलमा बाउन्ड्री गएपछि जित पक्का भयो अनि हामीले गरेको मिहिनेत सम्झिएँ,त्यो क्षण चाहिँ एकदम भावुक क्षण थियो।”पाख्रिनले बताईन् ।
कप्तान पुजासँगै सिनियर टिममा खेलिसकेकी पाख्रिनले त्यहाँको अनुभवले निकै फाइदा पुगेको सुनाइन्।“सिनियर टिममा खेलिसकेको अनुभवले विशेषगरी प्रेसरको अवस्थामा धेरै नै फाइदा पुग्छ,यूएईसँगको खेलमा दबाब थियो,त्यो अनुभव नभएको भए सायद त्यसरी शान्त भएर खेली जित निकाल्न सक्दैन थियौँ होला।”उनलेभनिन् ।
नेपाली टोली यूएई जानुअघि दिल्लीमा अभ्यास क्याम्पमा पनि गएको थियौँ। त्यहाँबाट पनि धेरै फाइदा पुग्यो ।“क्यानबाट पनि धेरै राम्रो व्यवस्था भयो।त्यहाँ धेरै राम्रो टिम भएकाले त्यहाँ सिकेको कुराले हामीलाई धेरै फाइदा पुग्यो।प्रशिक्षकले पनि योे टिमले महिला क्रिकेटको रुप नै बदल्छ भनेका थिए,तिमीहरुले गर्न सक्छौ भन्दै थिए।”उनले सुनाईन् ।अब अर्को पाँच देखि १० वर्षमा नेपाली महिला क्रिकेट एकदमै राम्रो हुने उनले अपेक्षा गरेकी छन् ।
विश्वकपका लागि मैदान उत्रँदै गर्दाको क्षण कल्पना गर्दै उनले नेपाली क्रिकेटमा अझै राम्रो गर्नका लागि धेरै खेलहरु खेल्नुपर्ने छ्।“हामीले स्किलमा काम गर्नुपर्छ,फिटनेशमा पनि राम्रो हुनुपर्छ।दबाबपूर्ण अवस्थामा खेल्न सक्ने म्याचुरिटी अझै आइसकेको छैन त्यो आवश्यक छ।”उनले भनिन् ।“अझै पनि विश्वास नै लागिरहेको छैन हामी विश्वकप खेल्दै छौं भनेर,अझै पनि हामीभित्र त्यो कुराले स्थान लिइसकेकै छैन,हेरौं अब माहोल कस्तो हुन्छ ।”छनोट प्रतियोगितामा पाख्रिनले छ खेलमा कुल एक सय १९ रन बनाइन्। दुई खेलमा नटआउट रहेकी उनले ४३ रनको सर्वाधिक स्कोर बनाएकी थिइन् ।