मधेशमा बढ्यो चिसो,विपन्न वर्ग हुस्सुले चिसो ढाढदा जनजीवन प्रभावित

460 Shares

लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि सर्लाही सहित मधेशका जिल्लामा जाडो निकै बढेको छ।मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।“उखु काट्ने र हिउँदेबाली लगाउन भ्याइनभ्याइ भएका किसानहरु पुस नलाग्दै चिसो बढेपछि प्रभावित भएका छन् ।चिसोले कठ्याङिग्रएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानहरुलाई पिरोलेको छ।मधेशका जिल्लामा पूर्व–पश्चिम राजमार्गभन्दा तलतिर हुस्सु र चिसोको कहर बढेको छ।पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको स्थानीय बताउँछन् ।
मधेश गर्मी अलि बढी हुने ठाउँ भए पनि जाडो यतिसारो पहिले नभोगिएको स्थानीय जानकारहरुले अनुभव सुनाए।उत्तरी क्षेत्रमा बिहान १० बजेतिर हुस्सु फाट्दै गएर घाम देखिए पनि दक्षिणतर्फ अपरान्हसम्म दिन हो कि रात छुट्याउन नसकिने सर्वसाधारण बताउँछन् । अपरान्हपछि हुस्सु हट्दै गए पनि कतिपय दिन घामै नदेखिएर साँझ पर्ने गरेको स्थानीय बताउँछन् ।मङ्सिरभित्रै बढेको चिसोले घरपालुवा पशुचौपायको विजोग बन्दैछ।पशुचौपायको आहाराको जोहो र चरनमा लैजान नपाइँदा समस्या भएको जिल्लाका पशु पालक किसानहरुको गुनासो छ ।धेरै बढेको चिसोले पशुचौपाय जिङ्राउने र बिरामी हुने क्रम बढेको समेत बढेको छ ।
यसैगरी बढ्दो जाडोले व्यापार पनि चौपट भएको व्यापारी बताउँछन्।अहिले मङ्सिर सकिँदै गर्दा चिसोले घर बाहिर निस्कन नदिएपछि पुस,माघ कस्तो होला भन्ने सम्झनाले नै अत्यास लाग्ने गरेको सर्वसाधारणको भनाइ छ।अहिलेको जाडोको कहरले ससाना बालबालिकाहरु, वृद्धवृद्धा,गर्भवती र सुत्केरी महिलालाई स्वास्थ्य जोखिम बढ्ने लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले बताए ।
उनका अनुसार खासगरी श्वास प्रश्वासका बिरामीलाई यो मौसमले बढी च्याप्ने हुँदा स्याहारमा ध्यान दिनुपर्छ।चिसोसँगै दम,निमोनिया,रुघाखोकी,ज्वरोलगायत रोगका बिरामी बढेका हुन्।नगर अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले गर्दा बढेका डा.चौधरीले बताए । चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका दाउरा,मुडा,खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक संघ संस्थाले आग्रह गरेका छन् ।
यसैगरी जिल्लाका २० वटै स्थानीय तह र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति यसपाली हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरिएको जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुशवाहाले बताए ।चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी,मजदुर,बालबालिका,गरिब असहाय,ज्येष्ठ नागरिक बढी प्रभावित हुन थालेका छन्। 

सम्बन्धित समाचार