लगातार तीन दिनको बिदा पछि मंगलबारबाट खुलेको लालबन्दी नगर अस्पतालमा बिरामीको अत्यधिक चाप बढेको छ।लगातारको बिदापछि लालबन्दी नगरपालिका ९ स्थित रहेको लालबन्दी नगर अस्पताल मंगलबारबाट पुन सुचारु भएपछि बिरामीको अत्यधिक चाप बढेको नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार शनिबार नियमित सार्वजनिक बिदा,आइतबार उधौली पर्वको बिदा र सोमबार लालबन्दी नगरपालिका ३ जब्दीका एक जना वडा सदस्यको निधनमा नगरपालिकाले दिएको शोक बिदाका कारण गत शुक्रबारदेखि सोमबार सम्म बिदा भएपछि मंगलबार मात्रै अस्पतालको ओपिडी सञ्चालन भएको हो।लगातारको बिदापछि अस्पताल खुलेकाले मंगलबार एकै दिन दुई सय ६० जना बिरामीले लालबन्दी नगर अस्पतालको ओपिडीमा सेवा लिएका डा. चौधरीले बताए ।
जाडो बढेका कारण मंगलबार सेवा लिन आएका दुई सय ६० जना बिरामीमध्ये अधिकांशमा रुघाखोकी र ज्वरोको सङ्क्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ।पछिल्लो समय नगर अस्पताल लालबन्दीमा छात्रावृत्तिमा खटिएका मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सक समेत बस्न थालेसँगै बिरामीको चाप बढिरहेकै भएपनि लगातारको बिदापछि कार्यालय खुल्दा झन चाप बढेको हो ।
नगर अस्पताल लालबन्दीमा लालबन्दीसहित छिमेकी पालिका र सिन्धुलीको मरिण तथा हरिहरपुरगढी गाउँपालिकाबाट समेत स्थानीय औषधोपचारका लागि आउने गरेका डा. चौधरीले बताए।उनका अनुसार निजी स्वास्थ्य संस्थामा चर्को शुल्क तिरेर उपचार गराइरहेका सर्वसाधारण अहिले नगर अस्पतालमै प्रयोगशाला (ल्याब)समेत सञ्चालनमा आएपछि उपचारका लागि आउने गरेका छन् ।