सिन्धुलीको दुधौली नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा करिब ७० लाख रुपैँया इन्धनमा खर्च गरेको छ।दुधौलीमा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार मंसिर १० गते माग गरिएको सूचना विवरणमा नगरपालिकाले ६८ लाख १७ हजार तीन सय ८५ रुपैँया इन्धनमा र ५० लाख सात हजार २१ रुपैँया सरकारी सवारी साधन मर्मत सम्भारमा खर्च गरेको नगरपालिकाका सूचना अधिकारी मौसम कार्कीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
सूचना अधिकारी कार्कीले उपलब्ध गराएको विवरण अनुसार नगरपालिकाले सो आर्थिक वर्षमा २२ लाख १४ हजार तीन सय ६५ रुपैँया अतिथि सत्कार तथा खाजामा खर्च गरेको छ।तीन लाख ४२ हजार रुपैँया विभिन्न मिडियाहरुलाई भुक्तानी गरेको दुधौली नगरपालिकाले सो आर्थिक वर्षमा तीन सय ६३ वटा योजनाहरु सञ्चालन गरी सम्पन्न गरेको दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले बताए ।उनका अनुसार तीन सय ३७ वटा योजना उपभोक्ता समिति मार्फत,१८ वटा योजना ठेक्का मार्फत,चार वटा योजना कोटेशन मार्फत,तीन वटा योजना अमानतमा र एउटा योजना संस्था तथा समिति मार्फत सञ्चालन गरी सम्पन्न गरिएको हो ।१४ वटा वडा रहेको दुधौली नगरपालिकामा धेरै सवारी साधन र पुराना सवारी साधनहरु भएका कारण इन्धन तथा मर्मत सम्भारमा धेरै खर्च देखिएको दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।तर देश संघीय संरचनामा गएपछि नगरपालिका भएको दुधौली नगरपालिकाको करिब आठ वर्षमै पुराना सवारी साधन भन्नु नै शंकास्पद रहेको स्थानीय बताउँछन्
नगरपालिकाले उपलब्ध गराएको सूचनामा कुल सवारी साधन संख्या,मेशिनरी तथा फर्निचर खरिद विवरण,सेवा तथा परामर्श शीर्षकमा भएका खर्च विवरण,करारमा भर्ना भएका नयाँ नियुक्ति तथा म्याद थप नवीकरण भएका कर्मचारीहरुको विवरणका साथै मसलन्द तथा स्वास्थ्य सामग्री खरिद र वितरण, नदिजन्य/खानीजन्य सामग्रीको उत्खनन,भण्डारण र बिक्री वितरण र आन्तरीक राजश्व संकलन शिर्षक र विवरण सार्वजनिक गरिएको छैन् भने,दुधौली नगरपालिका सहित अधिकांश स्थानीय तहहरुले स्वतःप्रकाशन समेत नगर्ने गरेका पाइएको छ ।
यता,दुधौली नगरपालिकामा आन्तरीक राजनीतिक किचलो हुँदा प्रमुख प्रशासकीय अधिकृत सुवेदीको सरुवा हुने भएकाले उनी विगत करिब एक महिनादेखि संघीय राजधानी काठमाण्डौँ मै बसेका नगरपालिका स्रोतले जनाएको छ ।
त्यस्तै, नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी,नगर उप प्रमुख चन्द्र किशोर थारु र प्रमुख प्रशासकीय अधिकृत सुवेदीको विचमा काम गर्ने क्रममा केही कुराहरु नमिलेका कारण प्रमुख प्रशासकीय अधिकृत सुवेदी संघीय राजधानीमा बसेका दुधौली नगरपालिका १३ का वडा अध्यक्ष एवम नगर प्रवक्ता दिपक श्रेष्ठले बताए ।स्थानीय तहको निर्वाचन २०७९ मा दुधौली नगरपालिकाको नगर प्रमुखमा नेकपा(माओवादी केन्द्र)का अधिकारी नगर प्रमुखमा र नेपाली कांग्रेसका थारु नगर उप प्रमुखमा निर्वाचित भएका हुन ।
यता,सिन्धुलीका नौ वटा स्थानीय तहहरु मध्य गोलन्जोर गाउँपालिका,कमलामाई र दुधौली नगरपालिकाले मात्रै सूचना उपलब्ध गराएका छन् भने बाँकी रहेका तीनपाटन,फिक्कल,सुनकोसी,मरिण,हरिहरपुरगढी र घ्याङ्लेक गरी छ वटा गाउँपालिकाले सूचना उपलब्ध गराएका छैनन् ।