Close This

लक डाउनमा वनजन्य पदार्थ चोरी निकासी तिब्र,बंदेलको पासोमा परेका युवा घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१९ गते   ४०३ पटक हेरिएको

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ ) का कारण सरकारले लक डाउन घोषणा गरेपछि वनजन्य पदार्थ चोरी निकासी तिब्रगतिमा अगाडि बढेको छ । तस्कराहरुले काठ तथा जंगली जनावरहरुको चोरी सिकारी सुरु गरेपछि जंगली जनावरुहरु पछिल्लो समयमा गाउँ पस्न थालेका छन । जंगलमा तस्करहरु सक्रिय भएर आफुहरु असुरक्षित महसुस गरि जंगली जनावरहरु गाउँ पस्न थालेका हुन । गाउँमा मकै,गहुँ तथा उखु रहेका कारण र जंगलमा आहारा अभावका कारण गाउँ पसेका त्यस्ता जंगली जनावरहरु पछिल्लो समय गाउँमा पनि असुरक्षित हुने गरेका छन ।


सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीमा जंगली जनावर बंदेललाई थापेको पासोमा परेर एक युवक घाईते भएका छन । हरिवन नगरपालिका ५ घुर्कौलीमा जंगली जनावर बँदेललाई थापेको भरुवा बन्दुकको पासोमा परेर हरिवन नगरपालिका– ५ घुर्कौलीका अन्दाजी वर्ष  १८ का राजेन्द्र महतो घाइते भएका हुन् ।  अटोमेटिक सिस्टममा फिट गरेर राखेको भरुवा बन्दुक पड्केर महत्तोको खुट्टामा छर्राले गहिरो चोट लागेको स्थानियबासीले बताएका छन । महतोलाई स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचाारपछि बिहीबार राति नै चितवनको पुरानो मेडिकल कलेज पठाइएको हरिवन प्रहरीले जनाएको छ । 


इलाका प्रहरी कार्यालय हरिवनको टोलीले घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । उक्त बन्दुकको पासो कसले राखेको हो ? भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले  बताउनु भयो । जिल्लामा पछिल्लो समय विभिन्न खालका पासोमा पारेर जंगली जनावरको चोरी तस्करी गर्ने क्रम बढ्दै गएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech