बैशाख ३० गते हुने स्थानिय नियकाको निर्वाचनका लागि सर्लाहीबाट १४ जना महिला उम्मेदवारहरुले पालिका प्रमुखको उममेदवारी दिएका छन् । देशभरकै सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको जिल्लामा विभिन्न राजनीतिक दलबाट ८ जना र जना स्वतन्त्र ६ जना गरी १४ जना महिलाले पालिका प्रमुखको उम्मेद्वारी दिएका हुन् ।
प्रमुख दलहरु नेपाली कांग्रेस,नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र),जनमत पार्टी,राप्रपा, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले पालिका प्रमुखमा महिलाहरुलाई अवसर दिएको छ । नेकपा एमालेबाट तीन, नेकपा(माओवादी केन्द्र)बाट एक,नेपाली कांग्रेसबाट एक, जनमत पार्टीबाट एक, राप्रपाबाट एक, राष्ट्रिय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीबाट एक–एकजना महिलालाई पालिका प्रमुखको उम्मेद्वारीको अवसर दिएको हो ।
नेकपा(एमाले)ले ५४ वर्षीया कल्पना कटुवाललाई एमालेले बरहथवा नगरपालिकाको प्रमुख पदमा दोस्रो पटक अवसर दिएको हो । २०७४ सालको निर्वाचनमा पनि पालिका प्रमुखको रुपमा कटुवाललाई एमालेले अघि सारेको थियो । कटुवालले त्यसबेला ४ हजार ८ सय ७ मत ल्याएर तेस्रो स्थान ओगट्नु भएको थियो । त्यतिबेला माओवादी केन्द्रका नगर प्रमसख पदका उम्मेदवार देवानन्द महतोले ७ हजार ३ सय ८ र कांग्रेसका निरञ्जन प्रसाद दासले ५ हजार २७ मत प्राप्त गरेका थिए । यस पटक कटुवालले निवर्तमान नगर प्रमुख माओवादी केन्द्रका महतो र कांग्रेसका विगु चौधरीसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।
त्यस्तै एमालेले चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा संगिता देवी महतो नुनिया र ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा रीता कुमारीलाई उम्मेद्वार बनाएको छ । चन्द्रनगर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिलालाई नै उम्मेदवार बनाएको छ । एमालेले चन्द्रनगर गाउँपालिका उपाध्यक्षमा दलित समुहबाट राजन्ती पासवानलाई उम्मेदवार बनाएको छ । पहिलो पटक चन्द्रनगर गाउँपालिकामा अध्यक्षको उम्मेद्वारी दिएकी ३३ वर्षीया संगिताले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष महेन्द्र महतो सुडी, कांग्रेसका राजकुमार महतो, माओवादी केन्द्रका लोकेन्द्र मुखिया, जसपाका सुधिर कुमार यादव, जनमत पार्टीका किशोरी महतो सुडी लगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।
त्यसैगरी एमालेबाट ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी ३८ वर्षीया रीता कुमारीले लोसपाबाट उठेका निवर्तमान अध्यक्ष विनोद कुमार साह, कांग्रेसका रामपदारथ साह, जसपाका विरेन्द्र कुमार राय, माओवादी केन्द्रका कृष्णा राय, जनमत पार्टीका शैलेन्द्र कुशवाहा, बहुजन एकता पार्टी नेपालका देवेन्द्र राम लगायतसँग प्रतिष्पर्धा गनृुपर्ने छ ।
त्यस्तै माओवादी केन्द्रले गोडैता नगरपालिकामा नेतृ अनिता देवीलाई दोस्रो पटक नगर प्रमुख पदको उम्मेद्वार बनाएको छ । उहाँले २०७४ सालको निर्वाचनमा २ हजार ३ सय ९७ मत ल्याउनु भएको थियो । त्यहाँ तत्कालिन राजपाबाट निवर्तमान नगर प्रमुख देवेन्द्र कुमार यादवले ३ हजार ९ सय २ तथा कांग्रेसका उपेन्द्र प्रसाद कुशवाहाले ३ हजार ६ सय ७४ मत प्राप्त गर्नु भएको थियो । उहाँले यो पटक पनि यसअघिका निर्वाचित नगर प्रमुख लोसपाका यादव, कांग्रेसका कुशवाहा लगायतसँग नै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
त्यसैगरी कौडेना गाउँपालिकामा जनमत पार्टीबाट ३१ वर्षीया सावित्री धिताल तथा राष्ट्रिय सद्भावना पार्टीबाट ५१ वर्षीया अर्चना देवी गिरीले अध्यक्षमा उम्मेद्वारी दिनु भएको छ । उहाँहरुले निवर्तमान अध्यक्ष लोसपाका रामप्रसाद राय यादव, कांग्रेसका रुपेश कुमार, जसपाका राज नन्दन् प्रसाद, माओवादी केन्द्रका महादेव साह, एमालेका श्याम प्रसाद चौधरी कलवार लगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ ।
त्यसैगरी हरिवन नगरपालिकामा नेपाल सद्भावना पार्टीबाट ५५ वर्षीया बचवी देवी साह तेली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ६५ वर्षीया राधा कुमारी बरालले हरिपुर नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनु भएको छ । हरिवनकी तेलीले निवर्तमान नगर प्रमुख एमालेका गणेश प्रसाद प्रसाईं कांग्रेसका राम प्रसाद मैनाली, माओवादी केन्द्रका रमेश बुढाथोकी(कमल), नेकपा(एकीकृत समाजवादी)का सुरेन्द्र लामा लगायतसँग प्रतिष्पर्धा गर्नुपर्ने छ भने हरिपुरकी बरालले निवर्तमान मेयर एकीकृत समाजवादीका जमिरुद्धिन मंसुर, कांग्रेसका गोपाल पंजियार,एमालेका यादव सरकार, माओवादी केन्द्रका सुनिल बुढाथोकी, लोसपाका रामचन्द्र साह, जनमतका राजेन्द्र राय लगायत उम्मेद्वारहरुसँग भिड्नु पर्ने छ ।
त्यस्तै बागमती नगरपालिकाको प्रमुख पदमा ४३ वर्षीया धनकुमारी खड्का पौडेलले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । उहाँ २०७६ सालमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका तत्कालिन विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलकी धर्मपत्नी हुनुहुन्छ ।
जिल्लामा उहाँ सहित ६ जना महिलाले पालिका प्रमुखको रुपमा उम्मेद्वारी दिनु भएको हो । पालिका प्रमुखमा ६ स्वतन्त्र सहित १४ जना तथा उपप्रमुखमा भने २० जना स्वतन्त्र सहित १ सय ४१ जना महिलाले उम्मेद्वारी दिनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीमा ४ लाख ७४ हजार ४ सय ३९ मतदाताको अन्तिम नामावली कायम भएको छ । जसमा २ लाख ५७ हजार १ सय ३८ जना पुरुष तथा २ लाख १७ हजार २ सय ९२ जना महिला र ९ जना तेस्रो लिंङ्गी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । करिब आधा मतदाता महिला भएपनि उम्मेद्वारको रुपमा महिलालाई अगाडी बढाउन भने प्रमुख राजनैतिक दलहरुले कञ्जुस्याईं गर्दै आएका पाइएको छ ।