सर्लाहीको लालबन्दीका होटल,लज र रेस्टुरेन्टमा १५ बुँदे आचारसंहिता टाँस गरिएको छ ।समाजमा शान्ति सुरक्षा कायम गर्ने र होटल व्यवसायको क्षेत्रमा कुनै किसिमका अनैतिक गतिविधि हुन नदिन ईलाका प्रहरी कार्यालय लालबन्दीले १५ बुँदे आचार संहिताको फ्लेक्स टाँस गरेको हो ।लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका भित्रका होटल,लज र रेस्टुरेन्टमा १५ बुँदे आचार संहिता सहितको फ्लेक्स टाँस गर्ने कामको सुभारम्भ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक होटल तथा लजले अनिवार्य आगन्तुक पुस्तिका राख्ने,सम्भव भएसम्म होटलमा बास बस्न आउनेको परिचय पत्र राख्ने,उमेर पुगेका मानिसलाई मात्रै काममा लगाउने,होटलमा अनैतिक कार्य हुन नदिने,होटलभित्र प्रवेश गर्ने भाग समेत देखिने गरी अनिवार्य सिसी क्यामेरा राख्ने र प्रत्येक होटल व्यवसायीलाई काउन्टर अगाडि सबै सेवाग्राहीले देख्ने गरी आचारसंहिता टाँस गर्न भनिएको छ ।आचारसंहिताको पालना गर्दा होटलमा बसेर आपराधिक गतिविधिको योजना बनाउने व्यक्तिको मनोबल घट्ने अपेक्षा गरिएको साथै आचारसंहिता टाँस गरिएसँगै प्रहरीले होटल व्यवसायीलाई आवश्यक सुरक्षा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।