Close This

लालबन्दी नगरपालिकाको भवन निर्माण कार्य ६ वर्षदेखि अलपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२२ गते   ४५४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माण कार्य करीब ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण कार्यको ठेक्का लिएको ठेकेदारले २०७३ वैशाखमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माण कार्य अलपत्र परेको हो ।
लालबन्दी नगरपालिका ८ मा कुल रु २ करोड १२ लाखमा लोकवीर बेताली,पाँच कुमारी जेभी काठमाडौंले लालबन्दी नगरपालिकाको दुईतले भवन निर्माणका लागि काम गर्ने सहमतिमा ठेक्का सकारेको थियो ।
विसं २०७२ असार ७ गते भएको सम्झौता अनुसार २०७५ असार मसान्तभित्रमा निर्माण कार्य सम्पन्न गर्ने सहमति भएकामा सो मिति गुज्रिएको करीब ६ वर्ष पुग्दा पनि भवन निर्माण कार्य अलपत्र भएको नगरपालिका १६ का वडाध्यक्ष एवम नगर प्रवक्ता गणेश बहादुर थापाले जानकारी दिनु भयो ।उहाँका अनुसार भवन निर्माणको काम छोडेर बेपत्ता भएको ठेकेदार कम्पनीले पटकपटक गरी कूल रु ९७ लाख रकम लागिसकेको छ । ठेकेदार कम्पनीले २०७२ असोज १७ मा रु ४२ लाख पेश्की लिएको थियो । त्यसपछि २०७२ पुस २७ मा रु ४३ लाख २८ हजार ८ सय ३५ र २०७२ फागुन ३० मा रु ११ लाख ७१ हजार १ सय ६५ रकम भुक्तानी लगेको छ ।
अलपत्र रहेको भवन निर्माणको काम शुरु गर्न पटकपटक पत्र काटे पनि ठेकेदार कम्पनी सम्पर्कमा नआएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सेनाले बताउनु भयो । ठेकेदारले जमानत राखेको भनेको रु ४२ लाख बैंकको रेकर्डमा नभेटिएको भनेर बैंकबाट नगरपालिकामा पत्र आएको उहाँले बताउनु भयो । उहाँका अनुसार काम शुरु गर्न र जमानतको रकम बैंकमा जम्मा गर्न आफूहरुले पटक–पटक पत्राचार गरे पनि ठेकेदार कम्पनी सम्पर्कमा आएको छैन ।
नक्कली कागजात पेश गरी रकम लिएर फरार रहेको भन्दै नगरपालिकाले ठेकेदार कम्पनीविरुद्ध जिल्ला अदालत सर्लाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीलाई कार्वाहीका लागि २०७२ फागुन ३० गते प्रहरीमा समेत उजुरी गरेको र त्यसपछि अख्तियार र जिल्ला अदालतमा उजुरी गरेपनि निर्माण कम्पनीले अटेर गरेपछि अख्तियार र नगरपालिकाले सर्वाेच्च अदालतमा निर्माण कम्पनी विरुद्ध उजुरी दर्ता गराएको नगरपालिकाले जनाएको छ । अख्तियारले मुद्दाको टुङ्गो नलागेसम्म अधुरो रहेको भवन निर्माणको काम अगाडि नबढाउन निर्देशन दिएको थियो ।
ठेकेदारले काम गरेकोभन्दा २५ प्रतिशत बढी भुक्तानी लगेको समेत मूल्याङ्कन गरिएको वडाध्यक्ष एवम नगर प्रवक्ता थापाले बताउनु भयो । त्यसपछि नगरपालिका÷नगर कार्यपालिकाको बैठकले अधुरो अवस्थामा रहेको भवन नजिकै अर्को नयाँ भवन बनाएको छ । पहिलो भवन निर्माण हुँदा पनि नगरपालिकालाई भवन नपुग्ने भन्दै अर्को भवन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
रु ७१ लाखमा नयाँ भवन निर्माण गरिएको र अहिले सो भवनमा लालबन्दी नगरपालिका ८ को वडा कार्यालय राखिएको छ भने शहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले निर्माण गरेको जेष्ठ नागरिक आवाश गृहको भवनबाट नगरपालिकाले आफ्नो काम सञ्चालन गरि रहेको छ ।
अलपत्र परेको भवन निर्माणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा अनुरोध गरिएको नगरपालिकाले जनाएको छ । आफूहरुले अहिले सेवा दिइरहेको भवनमा पर्याप्त कोठा नहुँदा काम गर्न असहज भएकाले सेवाग्राहीको गुनासो आउने गरेको नगर प्रमुख बासुदेव अधिकारीले बताउनु भयो ।  नगरपालिकाको भवन निर्माणका लागि स्थानीयवासी रामबहादुर श्रेष्ठले पाँच कट्ठा जग्गा २० फिटको बाटो काटेर जग्गा दान गर्नुभएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech