सर्लाहीको ईश्वरपुर नगरपालिका २ स्थित राईटर खोरबाट सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले ठूलो परिमाणमा कपडा र चुरोट बरामद् गरेको छ।ईश्वरपुर नगरपालिका २ राईटर खोर स्थित तुलसी पशुपालन गाई फर्ममा लुकाई छिपाई राखिएको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा र सर्लाही भन्सार कार्यालयको टोलीले बुधबार राति अन्दाजी मुल्य रु एक करोड ५८ लाख ५९ हजार बराबरको भन्सार छलीको कपडा र चुरोट बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्दले जानकारी दिए ।
उनका अनुसार शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन ढुङगानाको नेतृत्वको सशस्त्र प्रहरीको टोली र सर्लाही भन्सार कार्यालयका भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको टोलीले उक्त फार्ममा छापा मारेर उक्त परिमाणको भन्सार छलीको कपडा र चुरोट बरामद् गरेकोे हो।
नियन्त्रणमा लिईएको भन्सार छलीको कपडा र चुरोट आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालयमा राखिएको छ ।पछिल्लो समयमा सर्लाहीका विभिन्न नाकाहरुबाट भन्सार छलीको ठूलो कारोबार भई रहेको यस घटनाले पुष्टि गरेको छ।सुरक्षाकर्मीहरुले भन्सार छलीको सामान मात्रै नियन्त्रणमा लिने तर व्यापारी पहिचान गरी उनीहरुलाई कार्बाहीको दायरामा नल्याउँदा तस्करी नरोकिएको जानकारहरु बताउँछन् ।सुरक्षाकर्मीहरुले उक्त सामान कसको हो भनी नबताएपनि उक्त कपडा र चुरोट बेथौराका उमेश ठाकुर र अर्का सरोज साहले उक्त स्थानमा संकलन गरेका र उक्त सामान महोत्तरीका कलिया नामका व्यापारीको रहेको व्यापारीहरु नै बताउँछन् ।
सर्लाहीको संग्रामपुर,पर्सा,नरायणपुर र सखुअवा नाका हुँदै ठुलो मूल्य बराबरको तस्करी हुने गरेको स्रोतको दाबी छ ।तर सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट(विओपी) संग्रामपुरका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक अश्मित मगरले उक्त सामान आफ्नो नाकाबाट नेपाल प्रवेश नगरेको दाबी गरेपनि ती व्यापारीले उक्त सामान संग्रामपुर,पर्सा,नरायणपुर र सखुअवा नाकाबाटै नेपाल प्रवेश गराएका अर्का व्यापारीले बताए ।
यता,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका प्रहरी नायव उपरिक्षक गोपी भट्टराई र निरन थापाका साथै जिल्लाका वेशपतिहरु र विओपी पतिहरुले सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक चन्दको सोझोपनको फाईदा उठाई रहेका सशस्त्र प्रहरी कर्मचारीहरु नै बताउँछन् ।