सर्लाहीको इश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको जनता प्रा.वि.ले राहत(करार) शिक्षक नियुत्ती गर्दा आर्थिक अनियमितता र प्रचलित नीयम विपरित भएको भन्दै प्रकाशित भएको समाचारको विषयलाई लिएर विद्यालय र नेपाल शिक्षक संघ इश्वरपुरले ध्यानाकर्षण भएको जनाएको छ ।
“विद्यालयमा रिक्त प्रा.वि राहात दरबन्दीमा करारमा शिक्षक भर्नामा आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित भएको भन्ने समाचार प्रति विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको छ ।वडाध्यक्षले नै शिक्षक भर्नामा विद्यालयका प्रधानाध्यापक र ईश्वरपुर नगरपालिकाको शिक्षा शाखा प्रमुखले आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित शिक्षक भर्ना गरेको भन्ने मिडियामा दिएको अभिव्यक्ति प्रति हाम्रो आपत्ति रहेको छ।मिडियाले पनि वास्तविकता नबुझी एक पक्षिय ढंगले समाचारलाई प्रसारण तथा प्रकाशन नगर्न अनुरोध गरिन्छ ।विद्यालयले २०८१/०८/०६ गते रिक्त प्रा.वि राहत दरबन्दीमा करारमा शिक्षक भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो। विज्ञापन आह्वान पछि शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीका ४ जना र खुला तर्फका १२ जना गरि १६ जनाको दरखास्त परेको थियो।जसमा शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीमा रहेका ४ जना मध्ये पहिलो बरियता क्रममा पर्ने क्रम संख्या ११ का बलराम जैसीलाई विद्यालय व्यवस्थापन समितिको मिति २०८१/०८/२६ गतेको बैठकले करार नियुक्ति दिने निर्णय गरेको हो।शिक्षा नियमावली २०५९ (नवौं संसोधन) को नियम ९७ मा करारमा शिक्षक नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ।उक्त नियमको उपनियम (१) र (२) मा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएमा आयोगबाट करारमा शिक्षक नियुक्तिका लागि प्रकाशित भएको सुचीमा रहेका उम्मेदवारहरू मध्येबाट व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रका लागि करारमा शिक्षक नियुक्ति गर्न सक्ने प्रावधान रहेको छ।सोही प्रावधान अनुसार करार सुचीका उम्मेदवार नियुक्ति गर्दा कसरी कहाँ र कुन तवरले आर्थिक अनियमितता र नियमावली विपरित भयो थाहा भएन।त्यसैले पत्रकार तथा संचारकर्मी मित्रहरूले एक पक्षिय ढंगले समाचार सम्प्रेषण नगर्न अनुरोध गरिन्छ ।”जनता प्रा.विका प्रधानाध्यापक अन्जु हुजेदार थारुले हस्ताक्षर गरी शुक्रबार जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी,नेपाल शिक्षक महासंघ ईश्वरपुर नगर कार्यसमितिले पनि समाचार प्रकाशनमा ध्यानाकर्षण भएको भन्दै विज्ञप्ती जारी गरेको छ ।“ईश्वरपुर नगरपालिका १४ मा रहेको श्री जनता प्रा. वि. हरकठबामा रिक्त प्रा.वि राहत दरबन्दीमा करारमा शिक्षक भर्नामा आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित भएको भन्ने समाचार प्रकाशन भएको प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । ईश्वरपुर नगरपालिका १४ का वडाअध्यक्ष सित कुमार महतो कोइरीले खुला प्रतियोगिता परिक्षा गराई आफ्ना आफन्त र निकटकालाई शिक्षक भर्ना गर्न करार सुचीका उम्मेदवारको दरखास्त नलिन प्रधानाध्यापकलाई दवाव दिदै आएको र करार सुचीका उम्मेदवारको दरखास्त परेपछि वडाअध्यक्षले विज्ञापन स्थगित गर्न अनेक दवाव दिदै आएको अवस्थामा हाल वडाअध्यक्षले नै शिक्षक भर्नामा विद्यालयका प्रधानाध्यापक लगायतले आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित शिक्षक भर्ना गरेको भन्ने मिडियामा दिएको अभिव्यक्ति प्रति हाम्रो आपत्ति रहेको छ।समाचारमा आर्थिक अनियमितता र प्रचलित शिक्षा नियमावली विपरित भएको भनिएको छ।यस विषयमा के भएको हो भनेर एक पटक प्रधानाध्यापक लगायत आरोप लगाइएका पक्षलाई बुझनु पर्छ कि पर्दैन।कसैले भनेका भरमा दुइपक्षिय कुरा नबुझी अरूको चरित्र हत्या गर्ने काम किन गरियो।मिडियाले वास्तविकता नबुझी वडाअध्यक्षको एकोहोरो कुरा सुनेर एक पक्षिय ढंगले प्रकाशन गर्न नहुने,समाजमा भ्रम फैलाउन नहुने,प्रेस जगत स्वतन्त्र निश्पक्ष,न्यायिक हुनुपर्नेमा कसै अमुक व्यक्तिको मुखपत्र बन्न नहुने र पत्रकारको आचारसहिंता र धर्म भुल्न नहुने हाम्रो बुझाइ छ।यस विषयमा सम्बन्धित मिडिया हाउसले उक्त समाचारको विषयमा सत्यतथ्य बुझी समाचारको खण्डन गर्न र यदि त्यसो नभए आवश्यक कानुनी प्रक्रियामा जाने व्यहोरा सुचित गरिन्छ।वास्तविकता के हो भने विद्यालयले २०८१/०८/०६ गते रिक्त प्रा.वि राहत दरबन्दीमा करारमा शिक्षक भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो।विज्ञापन आह्वान पछि शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीका ४ जना र खुला तर्फका १२ जना गरि १६ जनाको दरखास्त परेको थियो।जसमा शिक्षक सेवा आयोगले प्रकाशित गरेको करार सुचीका उम्मेदवार क्रम संख्या १०१ का पुजा अधिकारी,क्र.म संख्या ८० का निलम कुशवाह, क्र.म संख्या ७५ का प्रमोद कुमार साह र क्र.म संख्या ११ का बलराम जैसीको दरखास्त परेको थियो ।
शिक्षा नियमावली २०५९ (नवौं संसोधन) को नियम ९७ मा करारमा शिक्षक नियुक्ति सम्बन्धि व्यवस्था गरेको छ।उक्त नियमको उपनियम (१) र (२) मा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी शिक्षक नियुक्ती हुन नसकी तत्काल करारमा शिक्षक नियुक्ति गर्नुपर्ने भएमा आयोगबाट करारमा शिक्षक नियुक्तिका लागि प्रकाशित भएको सुचीमा रहेका उम्मेदवारहरू मध्येबाट व्यवस्थापन समितिले बढीमा एक शैक्षिक सत्रका लागि करारमा शिक्षक नियुक्ति गर्न सक्ने प्रावधान रहेको छ।सोही प्रावधान अनुसार करार सुचीका पहिलो बरियता क्रममा पर्ने क्रम संख्या ११ का बलराम जैसीलाई विद्यालय व्यवस्थापन समितिले मिति २०८१/०८/२६ गते करार नियुक्ति दिने निर्णय गरेको हो।नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा आफ्नो स्वार्थ पुरा नभएपछि रिसले रन्थनियका वडाध्यक्ष सित कुमार महतो कोइरीले विभिन्न माध्यमबाट प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखलाई बदनाम गर्ने उदेश्यले अभिव्यक्ति दिनु राम्रो पक्ष नभएको महासंघको ठहर छ। तसर्थ मिडिया हाउसलाई भ्रम छर्ने काम गरि शिक्षा क्षेत्रलाई विवादित नबनाउन, दुबै पक्षका भनाइ समेटि समाचारमा सन्तुलन ल्याउन र यस्ता अवाञ्छित क्रियाकलाप गर्ने कानुन बारे जानकार भएपनि समाजमा भ्रम छर्ने जनप्रतिनिधिलाई आवश्यक कानुनी कारबाहीको दायरामा नल्याए नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालीन बन्द गरी चरणबद्ध आन्दोलनमा जाने व्यहोरा जानकारी गराउन चाहन्छौं।”नेपाल शिक्षक महासंघ ईश्वरपुर नगर कार्यसमितिकी सभापति लक्ष्मी बानियाँले हस्ताक्षर गरी जागरि गरिएको विज्ञप्तीमा उल्लेख छ ।
जनता प्रा.वि. र नेपाल शिक्षक संघ इश्वरपुर नगर समितिले एएटै विज्ञप्तीलाई माथितल मात्रै फरक पारेर जारी गरिएको विज्ञप्तीबाट समेत जनता प्रा.विका प्रधानाध्यापक थारु विद्यालयको काममा भन्दा नेपाली कांग्रेसको राजनीतिमा बढी सक्रिय हुने गरेका प्रष्ट भएको छ ।

प्रधानाध्यापक थारुले सूचनामा राखेका दुई वटै मोवाईल नम्बरमा फोन गर्दा फोन नउठाउने अनी एक पक्षीय समाचार प्रकाशन भयो भनेर विज्ञप्ती प्रकाशन गर्नु नै हाँस्यास्पद रहेको छ ।शिक्षा विकास तथा समन्वय समिति सर्लाहीसंग कुनै किसिमको अनुमती तथा सहमती नलिएका साथै शिक्षक नियुक्ती गर्दा भएको बैठकको निर्णयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार महत्तोले हस्तक्षर नभएको प्रमाण हामीलाई प्राप्त भएको छ ।कुनै एउटा विद्यालयको समाचार प्रकाशन गर्न कुनै दलका भातृ तथा शुभेच्छुक संघ÷संगठनलाई सोधी रहनु नपर्ने हाम्रो ठहर भएकाले विद्यालयका प्रधानाध्यापक थारुलाई फोन गरिएको तर फोन नउठेको,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महत्तोलाई फोनगरी कुरा भएको प्रमाण,सम्बन्धीत वडा भएकाले वडा अध्यक्ष सित कुमार महतोसंग भएको कुराकानीको प्रमाणका साथै नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख हरि प्रसाद दाहालसंग भएको कुराकानीको प्रमाण कमलामाई मिडिया प्रा.लिसंग सुरक्षित रहेको छ ।
शुक्रबार प्रकाशित समाचारमा के थियो, ?
सर्लाहीको इश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको जनता प्रा.विको राहत(करार) शिक्षक नियुत्तिमा अनियमितता र प्रचलित नीयम विपरित भएको पाइएको छ।इश्वरपुर नगरपालिका १४ हरकठवा स्थित रहेको जनता प्रा.विले मंसिर ६ गते आव्हान गरेको सूचनामा १६ जनाले आवेदन दिएकामा विद्यालयका प्रधानाध्यापक अन्जु हुजेदार थारु र इश्वरपुर नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक हरि प्रसाद दाहालको मिलेमतोमा विज्ञापनमा उल्लेख गरिए बमोजिमका कुनैपनि परीक्षा सञ्चालन नगरी सिधैँ एक जनालाई राहत(करार) शिक्षकमा नियुत्ति गरेपछि शिक्षक भर्नामा आर्थिक अनियमितता भएको पाइएको इश्वरपुर नगरपालिका १४ का वडा अध्यक्ष सित कुमार महतोले जानकारी दिए ।
उनका अनुसार २०८१।०८।०६ मा सूचना प्रकाशन गरी माग गरिएको आवेदनमा सर्लाही सहित अन्यन्त्रका गरी १६ जनाले आवेदन दिएका भएपनि विद्यालयका प्रधानाध्यापक थारु र नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालको मिलेमतोमा आर्थिक अनियमितता गरी प्रावधान विपरित दैलेखको भैरवी गाउँपालिका ६ का बालाराम जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरिएको हो ।
विद्यालयले जारी गरेको सूचनामा परीक्षाको किसिममा लिखित,अन्र्तवार्ता र कक्षा अवलोकन भनेर उल्लेख गरिएको भएपनि आर्थिक अनियमितता गरे कुनैपनि परीक्षा सञ्चालन नगरी जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरिएको भन्दै इश्वरपुर नगरपालिका १४ ले मंसिर २६ गते विद्यालयलाई त्यस प्रकारको गतिविधि रोकी शिक्षा नियमावली अनुसार गर्न भन्दै पत्राचार समेत गरेको छ ।

यता,शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले पनि मंसिर २६ गते प्रा.वि.तह शिक्षक अनुदान कोटा(राहत) करारमा शिक्षक छनोट गर्न सञ्चालन गरिएको प्रकृया शिक्ष ऐन २०२८(संशोधन सहित) र शिक्षा नियमावली २०५९(संशोधन सहित)को दफा ९६ बमोजिम नभएको पाइएको भन्दै तत्काल सो प्रकृया रोकी कानून बमोजिक गर्न भनी पत्राचार गरेको छ।तर विद्यालयका प्रधानाध्यापक थारु र नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालले त्यसलाई अटेर गरी हतार हतारमा जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरेका वडा अध्यक्ष महतोले बताए ।
सूचना आव्हान भएको समयमा नै छनोट समिति गठन गर्नु,शिक्षक छनोट समितिमा विज्ञ नियुक्त नगर्नुका साथै विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद देखिएपछि अहिलेलाई प्रकृया रोकेर केही दिनपछि गरौँ भन्दा प्रधानाध्यापक थारुले अटेर गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार महतोले बताए।“बैठकमा विवाद भएपछि अहिले यो प्रकृया रोकौँ पछि जानकारहरु र शिक्षा विद्धहरुसंग सल्लाह गरेर काम गरौँला भन्ने आफ्नो प्रस्तावलाई प्रधानाध्यापक थारुले अटेर गरी आफुखुसी जैसीलाई राहत(करार) शिक्षकमा नियुत्त गरेका कारण आफुले हस्ताक्षर केरेर डिहेको”विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले बताए ।
साथै,मधेशमा शिक्षक नियुक्तिमा आर्थिक तथा राजनीतिक दवाव थोग्नै नसक्ने खालको आउने गरेको भन्दै इश्वरपुर नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालले घुमाउरो पारामा आर्थिक अनियमितता भएको स्वीकार गरे।उनले शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीसंग स्थानीय तहहरुका विद्यालयहरुको कुनैपनि गतिविधिहरुमा समन्वय,सहकार्य र अनुमती तथा सहमती लिन जरुरी नरहेको बताए ।
तर,“केही स्थानीय तहहरुले करारमा शिक्षक नियुक्ति तथा सरुवा गर्ने काम गरेका पाइएकाले ध्यानाकर्षण भएको जनाएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग,केन्द्रीय कार्यालय टंगाल,काठमाण्डौंको पत्र संख्या २०७६।०७७ मुद्धा,पुनरावेदन तथा बहस पैरवी महाशाखा चलानी नं. ५८७१ मिति २०७६।०६।१५ गते,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सूचना तथा प्रविधि शाखा,सिंहदरवार,काठमाण्डौंको पत्र संख्या २०७६/०७७ चलानी नं. १६२ मिति २०७६।०६।२९ गते र शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक योजना तथा विकास महाशाखा,शिक्षक व्यवस्थापन समन्वय शाखा,सानोठिमी,भक्तपुरको पत्र संख्या २०७७।०७८ शि.व्य. चलानी नं. १८१ मिति २०७७।१२।३० गतेको पत्र समेतमा शिक्षा ऐन,२०२८ (संशोधन सहित) तथा शिक्षा नियमावली,२०५९ (संशोधन सहित) हालसम्म कार्यान्वयनमा रहेको हुदाँ करार शिक्षक नियुक्ति गर्दा नियुक्तिको प्रक्रियाका सम्बन्धमा सोही नियमावलीको नियम ९६(क) र ९७ मा स्पष्ट व्यवस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार सोही ऐनको दफा १६ (ज) एवम सोही नियमावलीको नियम ९९ बमोजिम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले गर्ने व्यवस्था उल्लेख भएको तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को परिच्छेद ३ को दफा ११ को २ को (ज) मा स्थानीय तहको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी काम,कर्तव्य र अधिकारमा उल्लेखित २३ वटा बुदाँमा करारमा शिक्षक नियुक्ति एवम सरुवा सम्बन्धी व्यवस्था उल्लेख नभएको हुदाँ करारमा शिक्षक नियुक्ति तथा सरुवा यस इकाइको समन्वय,सहयोग र सहकार्यमा मात्र गर्नु/गराउनु हुन अन्यथा शिक्षा ऐन÷नियमावली विपरित हुने करारमा शिक्षक नियुक्ति तथा सरुवामा यस इकाइबाट कुनै कारवाही नहुने व्यहोरा अनुरोध छ।”शिक्षा विकास तथा समन्वय इकाइ मलंगवा सर्लाहीले जिल्लाका सबै स्थानीय तहहरु र सामुदायिक विद्यालयहरुलाई २०७८ माघ ७ गते गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग,केन्द्रीय कार्यालय टंगाल,काठमाण्डौं,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सूचना तथा प्रविधि शाखा,सिंहदरवार,काठमाण्डौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,सिंहदरवार,काठमाण्डौं,शिक्षा तथा मानव स्रोत विकास केन्द्र,शैक्षिक योजना तथा विकास महाशाखा,शिक्षक व्यवस्थापन समन्वय शाखा,सानोठिमी,भक्तपुर र जिल्ला प्रशासन कार्यालय,मलंगवा सर्लाहीलाई बोधार्थ लेखिएको इकाईको सो पत्रमा सो कुरा उल्लेख गरिएको हो ।
यता,विद्यालयले शिक्षक जैसीलाई नियुक्ति गरेको करिब एक साता विति सकेको भएपनि नगरपालिकाको शिक्ष,युवा तथा खेलकुद शाखामा कुनैपनि कागजात नपठाएका कारण कतै अनियमितता भएको हो की भन्ने आफुलाई पनि शंका लागेको भन्दै शिक्ष,युवा तथा खेलकुद शाखाका संयोजक दाहालले गैर जिम्मेवार जवाफ दिए ।
त्यस्तै,कक्षा ५ सम्म अध्यायन तथा अध्यापन हुने जनता प्रा.वि.का प्रधाानध्यापक थारुले विद्यालयमा भर्ना भएका करिब सय जना विद्यार्थीहरुको नाममा दिवा खाजा वापतको सरकारले दिने रकममा पनि अनियमितता गरेका इश्वरपुर नगरपालिका १४ का स्थानीयको भनाई छ।भर्ना भएका करिब सय जना विद्यार्थीहरु मध्य दैनिक २५ देखि ३० जना विद्यार्थीहरु विद्यालय आउने गरेका भएपनि प्रधानाध्यापक थारुले सबैको हाजिर बनाएर दिवा खाजा वापतको रकम निकासा गरी अनियमितता गर्ने गरेका स्थानीयको आरोप छ।सो विषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक थारुलाई फोन गर्दा उनको फोन उठेन।प्राय विद्यालयमा नबस्ने प्रधानाध्यापक थारु नगरपालिकामा काम छ भन्दै पार्टीको भातृ संगठनमा राजनीति गर्न जाने गरेको समेत पाइएको छ ।