भन्सार छुटका एम्बुलेन्स खुलेआम बिक्री,एम्बुलेन्समा खुदेआम गैर कानूनी धन्दा

309 Shares

सरकारले भन्सार छुट दिएर खरिद गरिएका एम्बुलेन्सहरु पछिल्लो समय व्यापार हुने गरेको पाइएको छ ।राज्यले स्वास्थ्य सेवालाई सहज बनाउन बिरामी ओसार पसारका लागि भन्दै भन्सार छुट दिएर खरिद गरिएका एम्बुलेन्सहरु आफुखुसी खरिद बिक्रि हुने गरेका भएपनि सरोकारवाला निकाय मौन देखिएका छन्।सरकारले एम्बुलेन्स र शव वाहन सवारी साधन खरिदमा भन्सार छुट दिएर खरिदका लागि सहजता प्रदान गरेको भएपनि कुनै संघ/संस्थाले खरिद गरेका एम्बुलेन्सहरु पछिल्लो समय आफुखुसी व्यक्तिहरुलाई बिक्रि गरिने गरेको पाइएको हो ।
भन्सार तिरेर खरिद गर्नु पर्दा करिब रु २५ लाख सम्म पर्ने एम्बुलेन्स भन्सार छुटमा रु १० देखि १२ लाख सम्ममा कुनै संघ÷संस्थाले खरिद गरेर ल्याउने र नेपाल ल्याएपछि व्यक्तिलाई आफुखुसी विक्रि वितरण भएको पाइएको छ ।बिरामी ओसार पसारका लागि भन्सार छुट गरेर ल्याइएका एम्बुलेन्स मोटो रकममा अन्यत्र बिक्री भइरहेको भएपनि नियामक निकाय कानमा तेल हालेर बसेको पाइएको हो।एम्बुलेन्सले भन्सार छलीका सामानहरुका साथै कानूनले वर्जित गरेका लागु औषध ओसार पसार भई रहेका घटनाहरु बाहिर आउन थालेको समयमा सर्लाहीमा आफुखुसी व्यत्तिलाई एम्बुलेन्स बिक्रि गर्ने गरेका समस्याहरु बाहिर आउन थालेका छन् ।
सर्लाहीका अधिकांश स्वास्थ्य संस्थाहरुले भन्सार छुटमा भित्र्याएका एम्बुलेन्सहरुलाई कमाइ खाने भाँडो बनाउँदै आफुखुसी व्यत्तिगत रुपमा खरिद बिक्रि हुने गरेको साथै भाडामा लगाउने गरिएको पाइएको छ ।
सर्लाहीको लालबन्दीमा सञ्चालित लालबन्दी हेल्थ केयरको प्र–२–०२–००१ च–०६८८ नम्बरको एम्बुलेन्स जनकपुरका अरुण कापरले खरिद गरेका छन्।मलंगवामा रहेको द सहारा को अपरेटिभ लि.को ना २ च २४५० नम्बरको एम्बुलेन्स पनि सुरेश ठाकुरले खरिद गरेका छन् ।मुस्लिम समाज मलंगवाको प्र २–०२–००१च–०९३३ नम्बरको एम्बुलेन्स मनोज यादवले खरिद गरेका छन्।लालबन्दीमा रहेको उज्यालो नेपालको प्र २–०२–००१च–०७६१ नम्बरको एम्बुलेन्स रामकुमार महतोले खरिद गरेर भेटिएको छ ।त्यसैगरी लालबन्दी नगरपालिका ५ स्थित रहेको श्रीराम कृषि बहुमुखी सहकारी संस्था लि.ले खरिद गरेको एम्बुलेन्स नवलपुरका एक व्यक्तिलाई मासिक भाडामा दिइएको पाइएको छ ।
सम्बन्धित निकायले अनुगमन तथा कारबाही चलाउन सक्रियता नदेखाएका कारण सर्लाहीमा विभिन्न संघ/संस्थाले राजस्व छुट तथा भारतीय दूतावास लगायत अन्य निकायबाट सहयोगमा पाएका एम्बुलेन्स व्यक्तिगत कमाइका लागि बेच्ने र ठेक्कामा लगाउने गरिएको पाइएको छ ।अधिकांश एम्बुलेन्सको हालत उस्तै रहेको र धेरैले चाँडै पैसा कमाउने धन्दा नै एम्बुलेन्स बनाएका पाइएको छ ।
अत्यावश्यक सेवा क्षेत्र मानिएको एम्बुलेन्स र शव वाहन कुनै रोकतोक निर्बाध रुपमा भन्सार छलीका सामानहरुका साथै लागु औषध ओसार पसार र जुवाडे समेत बोकेर दोडिने गरेका पाइएको एक एम्बुलेन्स व्यवासयीले बताए।अरू साधन सञ्चालनका लागि चर्को मूल्य तिर्नुपर्ने भए पनि शव वाहन र एम्बुलेन्सका लागि भने एक प्रतिशत मात्र भन्सार शुल्क लाग्ने गर्छ।निषेधाज्ञा तथा कुनै पनि बन्द र हडतालमा समेत विना रोकतोक एम्बुलेन्स सञ्चालन हुन पाउँछ।
अत्यावश्यक सेवा क्षेत्र भएकाले नियमनकारी निकाय पनि कानमा तेल हालेर बसेको जानकारहरु बताउँछन्।उनीहरुका अनुसार विभिन्न व्यक्तिहरूले परिवार र आफन्त मिलेर संस्था दर्ता गरी एम्बुलेन्स चलाएर पैसा कमाउने काममा लागेका छन्।सेवाको नाममा भन्सार छुट भएर लाखौँ रकम छुट भई नेपाल भित्र्याइएका केही एम्बुलेन्सलाई भने सम्बन्धित संस्थाले व्यापारमा लगाएको धेरै प्रमाणहरु भेटिन थालेका छन्।
भन्सार छुट भएर आउने एम्बुलेन्स र शव वाहन सवारी रु १५ देखि १८ लाखसम्ममा“सेकेण्ड ह्यान्ड”मा खरिद बिक्री हुने गरेको पाइएको हो।नियमनकारी निकायकै बेवास्ताका कारण सेवाका रूपमा प्रयोग हुनुपर्ने एम्बुलेन्स बिक्री भई अन्य कार्यमा प्रयोग भइरहेका छन्।भन्सार छुट भई ल्याइएका एम्बुलेन्सको उपयोग ठीक तरिकाले भएको नभएको अनुगमन नहुँदा पनि विकृति मौलाइरहेको जानकारहरु बताउँछन् । 
एक ठाउँका लागि भित्र्याइएको एम्बुलेन्स अन्यन्त्र लगेर चलाउन पाइन्छ त?भनी सोधेको हाम्रो प्रश्नमा संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय सदस्य रमेश कार्कीले जुन जिल्लाका लागि भनि खरिद भएको छ त्यही जिल्लामा मात्रै एम्बुललेन्स चलाउन पाइने र अन्यन्त्र लगेर कसैले चलाएको भए त्यो गैर कानुनी हुने बताए ।
सरोकारवाला के भन्छ ?
भन्सार छुट प्राप्त एम्बुलेन्स अन्यत्र चलाउन पाइने नियम नरहेको जिल्ला प्रशासन कार्यालय मलंगवा सार्लहीका सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी होम प्रसाद घिमिरेले बताए।एम्बुलेन्स जुन संस्थाले जुन प्रयोजनका लागि ल्याएको हो,त्यस अनुसार मात्र चलाउनुपर्छ।उनले थपे,जिल्ला प्रशासन कार्यालयमा यस सम्बन्धमा कुनै उजुरी तथा जानकारी नभएकाले यातायात कार्यालयसँग बुझ्न आग्रह सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले आग्रह गरे।जिल्लाका नीजि स्वासथ्य संस्थाहरुको अनुगमनमा चासो राख्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले यस प्रकारको गैर जिम्मेवार जवाफ दिन नहुने स्थानीय बताउँछन् ।
एम्बुलेन्स कुनै व्यक्तिले खरिद गर्न नपाउने साथै संस्थाले भन्सार छुटमा प्राप्त गरेको एम्बुलेन्स कुनै हालतमा पनि बिक्री गर्न र तोकिएको क्षेत्र भन्दा बाहिर लगेर चलाउन नपाइने यातायात कार्यालय मलंगवाका प्रमुख शशी प्रकाश यादवले बताए।उनले कर समेत तिर्नु नपर्ने गरि राज्यले समेत भन्सार छुट दिएको अत्यावश्यकीय सेवा एम्बुलेन्स नामसारी गरेर अर्काै मानिसहरुले चलाउन कुनैपनि हालतमा नपाउने बताए । सञ्चालनका क्रममा अस्पतालअनुसार अत्यावश्यक कामका लागि जता पनि दौडाउन पाइयो, तर बिक्री गर्न भने पाइँदैन।भन्सार छुटमा प्राप्त भएको एम्बुलेन्सको मूल्य निर्धारण नहुने हुँदा बिक्री हुने सवालै नहुने यातायात कार्यालय मलंगवाका प्रमुख यादवले बताए ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा के छ ?
राष्ट्रिय एम्बुलेन्स निर्देशिका,२०७८ ले एम्बुलेन्स सेवा सञ्चालन,व्यवस्थापन र नियमनको मापदण्ड तय गरेको छ ।जहाँ एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमतिपत्र लिनु पर्ने,अनुमतिपत्र प्राप्त गर्न एम्बुलेन्स सञ्चालन गर्ने संस्थाले निर्देशिकामा तोकिएका मापदण्डहरू पूरा गरेको हुनुपर्ने,एम्बुलेन्सलाई जेनरल,बेसिक लाइफ सपोर्ट र एडभान्स लाइफ सपोर्ट गरी वर्गीकरण गरिने,हरेक प्रकारको एम्बुलेन्समा आवश्यक उपकरण र सुविधा अनिवार्य रूपमा हुनुपर्ने,एम्बुलेन्स चालकलाई विशेष प्रशिक्षण दिनुपर्ने,बेसिक लाइफ सपोर्ट वा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्समा योग्य स्वास्थ्यकर्मी हुनुपर्ने,एम्बुलेन्सले सातै दिन २४ सैँ घण्टा सेवा दिनुपर्ने,बिरामीको प्राथमिक उपचार,सुरक्षित यातायात र अनिवार्य सफाइ तथा सरसफाइको ध्यान दिनुपर्ने,सेवाको शुल्क निर्धारण पारदर्शी हुनुपर्ने छ र सरकारद्वारा अनुमोदित शुल्क सूची अनुसार हुनुपर्ने,एम्बुलेन्स सेवा प्रदायकले राष्ट्रिय आपतकालीन सेवा नम्बर (१०२) सँग समन्वय गर्नुपर्ने,एम्बुलेन्सको अवस्थिति ट्र्याक गर्न जिपिएस सिस्टम जडान गर्नुपर्ने,निर्देशनको उल्लंघन गर्ने एम्बुलेन्स सेवा प्रदायकलाई कारवाही गरिने,नियमित रूपमा निरीक्षण गरी सेवा सुधारको अनुगमन गर्नुपर्ने, विपद्,महामारी वा अन्य आपतकालीन अवस्थाहरूमा सरकारसँग सहकार्य गर्नुपर्ने,एम्बुलेन्सले आपतकालीन बिरामी,प्रसूति र अन्य अत्यावश्यक सेवाहरूलाई प्राथमिकता दिनुपर्ने साथै नेपालमा एम्बुलेन्स सेवाको गुणस्तर सुधार गर्दै आपतकालीन स्वास्थ्य सेवामा पहुँच सहज बनाउन निर्देशिका जारी गरिएको भएपनि“काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर”भन्ने उखान जस्तै भएको पाइएको छ।सर्लाहीमा एम्बुलेन्स वर्गिाकरण भए नभएको साथै भाडा निर्धारण भए नभएको जनस्वास्थ्य कार्यालय मलंगवा सर्लाहीलाई कुनै जानकारी छैन् ।

सम्बन्धित समाचार