पुस २५ गते भित्र तलब भक्ता पाउने भएपछि बसबरियाका कर्मचारीको धर्ना स्थगित

175 Shares

सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेर काममा फर्किएका छन्।बसबरिया गाउँपालिकाको बजेट पारित नहुँदा गत साउनदेखि तलब, भत्ता नपाउँदा कर्मचारी,शिक्षक र स्वास्थ्यकर्मीले पुस २ गतेबाट गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका थिए।गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारी साह सहितको उपस्थितिमा शनिबार बसेको बैठकमा सम्पूर्ण स्थायी,करार र ज्यालादारी कर्मचारीहरुको तलब,भत्ता यही पुस २५ गतेभित्र उपलब्ध गराउने सहमती भएपछि कर्मचारीहरुको धर्ना कार्यक्रम आईतबारदेखि स्थगित भएको बसबरिया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका अध्यक्ष राय र उपाध्यक्ष साह पक्षबिच सहमतीको वातावरण बनेसँगै आर्थिक वर्ष २०८२/०८३ को गाउँसभा अन्तर्गत बन्द सत्रको बैठक समेत बोलाइएको छ।आईतबार गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको बजेट पारित गर्ने हिसाबले पुस १६ गते बुधबार गाउँसभाको बैठक बोलाइएको र गाउँसभा संचालन गर्नुअघि राजस्व परामर्श समितिको बैठक बसेको  बसबरिया गाउँपालिकाले जनाएको छ ।
बजेट बाँडफाँडको विषयमा गाउँपालिका अध्यक्ष राय र उपाध्यक्ष साह पक्षबिच सहमती जुट्न नसक्दा गाउँसभाको उद्घाटन सत्र गएको असारमै भए पनि बन्दसत्र नहुँदा चालु आर्थिक वर्षको छ महिना बित्तिसक्दा पनि चालू आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन् ।
जसका कारण छ महिनासम्म तलब,भत्ता नपाएका कर्मचारी,शिक्षक र स्वास्थ्यकर्मीले कामकाज नै ठप्प पारेर आन्दोलन सुरु गरेपछि जनप्रतिनिधिहरु वार्तामा बस्ने र गाउँसभा गरेर बजेट पारित गर्ने वातावरण बनाउन बाध्य भएका हुन्।जनप्रतिनिधिहरु बिचको किचलोका कारण गाउँपालिकाको नियमित कामकाज र विकास निर्माणका काम प्रभावित हुँदा स्थानीय चिन्तित बनेका छन् ।

सम्बन्धित समाचार