वि.पी.राजमार्गमा सञ्चालन हुने अधिकांश सवारीहरुका चालकहरुले मादक पदार्थ सेवन (मापसे) तथा लागु पदार्थ(लापसे) गर्ने गरेका पाइएको छ।मापसे तथा लापसेको चेकजाँचमा कडाई गरेपछि यात्रुबाहक तथा मालबाहक सवारी चलाउने चालकले मापसे तथा लापसे सेवन गरेका पाइएको बागमती प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एवम प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मापसे र लापसे चेकिङलाई तीव्रता दिएपछि बागमती प्रदेशका १० जिल्लाका ४९ चालक लापसे कारबाहीमा परेका छन्।मापसे कारबाहीबाट जोगिन चालकले लापसे गर्न थालेका पाइएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।लापसे गरेका चालकलाई ठाउँको ठाउँ जाँच गरेर कारबाही गर्दै आएको बागमती प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन र मातहतका कार्यालयहरुले सबैभन्दा धेरै सिन्धुली रुटमा चल्ने सवारीका चालकहरु कारबाहीमा परेका उनले बताए ।
सिन्धुली रुटमा चल्ने लामो दुरीका सवारी साधनका २५ जना चालक लापसे कारबाहीमा परेका बागमती प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले जनाएको छ ।कार्यालयका अनुसार सिन्धुलीपछि चितवनमै लामो दुरीका चालकहरू लापसे गरेर सवारी हाँक्दै गरेको अवस्थामा भेटिएका छन्।चितवनमा छ जना चालकलाई लापसे सेवनमा कारबाही गरिएको छ ।
त्यस्तै, मकवानपुर,काभ्रे,सिन्धुपाल्चोक,रामेछाप,दोलखा र धादिङमा पनि केही सवारी चालक लापसे गरेर सवारी चलाएको पाइएपछि कारबाही गरिएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।करिब एक महिना लामो चेकजाँचमा नुवाकोट र रसुवामा भने लापसे गरेका सवारी चालक नभेटिएका कार्यालयले जनाएको छ । लागुपदार्थ सेवन गरे/नगरेको पत्ता लगाउन ठाउँको ठाउँ पिसाब जाँच गर्ने र चालकको पिसाब जाँच गर्दा लापसे गरे/नगरेको तत्कालै पत्ता लाग्ने भएकाले कार्बाही पनि ठाउँको ठाउँ गर्ने गरीएको बागमती प्रदेश प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख एवम प्रहरी उपरिक्षक सुवेदीले बताए ।
राजमार्गमा ट्राफिक जाँचका क्रममा जुन रुटका चालकले लापसे गरेको पत्ता लाग्छ सोही जिल्लाको जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्बाहीको लागि पठाउने गरिएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।उनले मापसे तथा लापसे चेकिङलाई निरन्तर दिइने समेत बताए।सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने अभियान अन्र्तगत गरिएको चेकजाँचमा अधिकांश चालकहरुले प्रतिवन्धित लागु औषध गाँजा सेवन गरेका पाइएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।