सर्लाहीको चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरुले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई गाउँपालिकाको गतिविधि प्रति जानकारी गराउँदै ज्ञापन पत्र बुझाएका छन् । चन्द्रनगर गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतो सहित चन्द्रनगर गाउँपालिका २ का वडा अध्यक्ष शम्भु साह तेली,४ का वडा अध्यक्ष राजिव सिंह दनुवार,५ का वडा अध्यक्ष सूर्य वंश राय र ६ का वडा अध्यक्ष रामस्वरुप कुर्मी र १० जना कार्यपालिका सदस्यहरुले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगेर चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोलाई कार्बाहीको माग राख्दै ज्ञापन पत्र बुझाएका हुन ।
१५ जना कार्यपालिका सदस्य रहेको चन्द्रनगर गाउँपालिकामा चन्द्रनगर गाउँपालिका २ का वडा अध्यक्ष शम्भु साह तेली, ३ का वडा अध्यक्ष सिताराम महतो,४ का वडा अध्यक्ष राजिव सिंह दनुवार,५ का वडा अध्यक्ष सूर्य वंश राय,६ का वडा अध्यक्ष रामस्वरुप कुर्मी र चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरी सहित कार्यपालिका सदस्य रविन्द्र सिंह, समिना वेगम,किशोर मुखिया, लतिपन खातुन र भगवनिया देवी कापर सहित १२ जना कार्यपालिका उपा अध्यक्षको पक्षमा रहेका छन् भने तीन जना कार्यपालिका सदस्यहरु गाउँपालिका अध्यक्ष राज कुमारको पक्षमा रहेका छन् ।
गाउँपालिकाकी उपा अध्यक्ष गीता देवीको पक्षमा रहेका १२ जना कार्यपालिका सदस्यहरु मध्य १० जना कार्यपालिका सदस्यहरु जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पुगि सरकारी कागजात तथा मूल दर्ता र चलानी रजिष्ट्रर किताब कब्जामा राखी कार्यालयको कामकाज अवरुद्ध गरेको हँुदा गाउँपालिका अध्यक्ष राज कुमारलाई कार्बाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको चन्द्रनगर गाउँपालिका २ का वडा अध्यक्ष साहले बताए।
उनका अनुसार राज्य व्यवस्था तथा सुशासन समिति,संघीय संसद, सिंहदरवार,काठमाडौ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार,काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,काठमाडौ,गाउँपालिका राष्ट्रिय महासंघ,काठमाडौ र जिल्ला समन्वय समिति सर्लाहीलाई बोधार्थ लेखि प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा“गाउँपालिका अध्यक्ष राजकुमारले गाउँपालिकालाई कुनै नीजि कम्पनी जसरी आफ्नो अनुकुलमा चलाउन विभिन्न किसिमका फण्डाहरु अपनाएको जसका कारण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल गाउँपालिकामा उपस्थित भई काम गर्न सक्ने वातावरण नबनेको, प्रमुख प्रशासकीय अधिकृत पाललाई काम गर्न बाधा अवरोध गर्न फर्जि ज्ञापन पत्र बनाई प्रमुख प्रशासकीय अधिकृत कक्ष र प्रशासन कक्षमा गाउँपालिका अध्यक्ष राजकुमारले आफैँले ताला लगाएका साथै आफैँ फर्जि सहमती बनाई ताला खोलेका कारण प्रमुख प्रशासकीय अधिकृत पालले उच्च मनोवलका साथ काम गर्न नपाएका,करारका कर्मचारीहरु भर्ना गरिएको फाईल लुकाउनुका साथै उनको विभिन्न किसिमको ताण्डवका कारण गाउँपालिकाको विकास निर्माणको साथै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरु प्रभावित भएका साथै घरभाडा र गाडि भाडाको फर्जी विल बनाई आफुखुसी रकम निकासा लिने चेष्टा गरेका कारण प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकामा उपस्थित भएर काम गर्ने वातावरण बनेका कारण उनलाई काम गर्ने वातावरण बनाई दिन साथै आफ्नो हित विपरितका काम गर्न नपाउँदा उपद्रो गर्ने गाउँपालिका अध्यक्ष राजकुमारलाई आवश्यक कार्बाही गरी पाउँ” लेखिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार कै कारण गत आर्थिक वार्षमा पनि १० महिना पछि विकास निर्माणका काम सुरु भएकामा यस वर्षपनि सोही अवस्था आउने देखेपछि चन्द्रनगर बासीको मौलिक र नैसर्गीक अधिकार रक्षा र प्राप्तीका लागि प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको गाउँपालिका उपाअध्यक्ष गीतादेवीले बताईन् ।
यता,सो विषयमा बुझ्न गाउँपालिका अध्यक्ष राज कुमारलाई सम्पर्क गर्दा उनीसंग सम्पर्क हुन सकेन् ।सात वटा वडा रहेको चन्द्रनगर गाउँपालिकामा तीन वटा वडा माओवादी केन्द्रले जितेको भएपनि अन्य वडाका अध्यक्षहरु सहित १२ जना कार्यपालिका सदस्यहरु र ३२ जना गाउँ सभा सदस्यहरु उपाअध्यक्ष गीतादेवीको पक्षमा छन् भने तीन जना कार्यपालिका सदस्यहरु र सात जना गाउँसभा सदस्यहरु गाउँपालिका अध्यक्ष राजकुमारको पक्षमा रहेका छन् ।
लामो समयदेखि गैर सरकारी संस्थामा काम गरेका गाउँपालिका अध्यक्ष राजकुमार गाउँपालिकालाई पनि गैर सरकारी संस्था झैँ आफ्नो खुसीमा चलाउन खोजेका कारण चन्द्रनगर गाउँपालिकाको विकास निर्माणका साथै गाउँपालिकाबाट प्रवाह हुने हरेक सेवा प्रभावित भई रहेको स्थानीयको गुनासो छ ।