संरक्षणको अभावमा नाढीमन ताल ओझेलमा

2.3k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ मा रहेको पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । चन्द्रनगर गाउँपालिका ६ मा रहेको पर्यटकीय स्थल नाढीमन ताल पछिल्लो समय अतिक्रमणको चपेटामा परेको हो ।
५२ बिघामा फैलिएको नाढीमन ताल पछिल्लो समय जनसंख्या वृद्धिको प्रत्यक्ष प्रभावमा परेको छ । ५२ विघामा फैलिएको नाढीमन ताल जनसंख्या वृद्धिसंगै अतिक्रमणको चपेटामा परेको छ । नाढीमन ताल अहिले करिब ३२ बिघामा खुम्चिएको छ । 
२०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको भएपनि त्यसको संरक्षण नहुँदा पर्यटकिय संरचनाहरु दिनप्रतिदिन जिर्ण हुन थालेका छन् भने ताल दिनप्रतिदिन दुर्गन्धीत हुँदै गएको छ । नेपाली सेनाले सञ्चालन गरेको समयमा तालमा डुङ्गा चढ्नेलगायत ताल अवलोकनका लागि आउनेहरुको संख्या बढेको भएपनि अहिले सो ताल सुनसान देखिन थालेको छ ।
चन्द्रनगर गाउँपालिकाको कार्यालयले समेत ताल अतिक्रमण गरि आफ्नो संरचना निर्माण गरेको छ भने ताललाई अतिक्रमण गरि करिब एक सय घरधुरी निर्माण गरिएको छ । चन्द्रनगर गाउँपालिकाको मातहतमा आएको तालमा अवलोकनका लागि मानिसहरुको चहल पहल घटेको चन्द्रनगर गाउँपालिका ६ का निवर्तमान वडा अध्यक्ष रामचन्द्र कापरले बताउनु भयो । उहाँका अनुसार सो तालमा नेपाली सेनाले सहयोग गरेका डुङ्गाहरु अहिले बिग्रिएर थन्कीएका छन् ।
तालमा डुङ्गा सञ्चालन हुँदा र तालमा निर्माण गरिएका पर्यटकिय संरचनाहरु चुस्तदुरुस्त हुँदा मानिसको चहल पहल बढेको थियो । तालमा सञ्चालन हुने डुङ्गा बिग्रिएको लामो समयसम्म सञ्चालन नगर्दा र तालको सरसफाइसहित अन्य विकासमा ध्यान दिन नसक्दा ताल घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरु आउन छोडेका स्थानियले बताएका छन् ।
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण ताल अवलोकनमा बन्देज लगाइएको र सङ्क्रमण सामान्य भएपछि पनि तालका डुङ्गाहरु मर्मत गरेर सञ्चालन गर्न वास्ता नगरिएका कारण ताल दिनप्रतिदिन सुनसान देखिन थालेको स्थानिय सुभाष पासवानले बताउनु भयो । उहाका अनुसार “यसअघिका जनप्रतिनिधिहरुले तालको विकासमा बेवास्ता गर्दा यस्तो अवस्था आएको हो भने  प्रदेशकै पर्यटकीय स्थल नाढीमन ताल ओझेलमा परेको छ ।” 
सुरुमा टाढा–टाढाका मानिसहरु ताल घुम्न आउँदा गाउँमा चहलपहल बढेपछि खुसी भएका स्थानीय अहिले निराश भएका छन् । मधेश प्रदेशका एक सयवटा उत्कृष्ट पर्यटकीय स्थलको रुपमा नाढीमन ताललाई समेत मधेश प्रदेश सरकारले समेटेको छ । 
आफू भर्खरै निर्वाचित भएर आएको र आगामी दिनमा तालको विकासमा लागि पर्ने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।उहाँका अनुसार “अहिले तालका डुङ्गाहरु सञ्चालनमा नभएको भएपनि अब चाँडै ती डुङ्गाहरुको मर्मत सम्भार गरि सञ्चालनमा ल्याउने बताउनु भयो । “हामी निर्वाचित भएर आएको करिब एक महिना मात्रै भयो, अब तालको विकास हुने गरी काम गछौँ ।” गाउँपालिका अध्यक्ष महतोले बताउनु भयो । जिल्ला कै सानको रुपमा रहेको नाढीमन ताल संरक्षणको अभावमा ओझेलमा परेको हो ।

सम्बन्धित समाचार