राष्ट्रिय गौरवका आयोजनाको नाममा अवैध नदी दोहन

830 Shares

नेपाल प्राकृतिक सम्पदामा धनी देश हो।जहाँ हिमाल,पहाड,तराई,जंगल,नदी तथा अन्य जैविक विविधता छ।यिनै स्रोत–साधनहरू देशको आर्थिक समृद्धि र पूर्वाधार विकासका लागि अत्यन्त महत्वपूर्ण छन्।तर,पछिल्लो समय राष्ट्रिय गौरवका आयोजनाहरूको नाममा ती प्राकृतिक स्रोतहरूको अवैध दोहन भइरहेको छ।विशेषगरी,नदीजन्य पदार्थ (बालुवा,गिट्टी, ढुंगा) को अवैध उत्खनन् तीव्र रूपमा बढेको छ ।जसले वातावरणीय असन्तुलन मात्रै निम्त्याइरहेको छैन्।मौसमी विपद् समेत भयानक रुपमा देखापर्न थालि सकेको छ ।
बाटो,जलविद्युत्,सिँचाइ,विमानस्थल,रेलमार्ग र सहरी पूर्वाधार लगायत २५ वटा राष्ट्रिय गौरवका आयोजना तथा परियोजनाहरूलाई नेपाल सरकारले राष्ट्रिय गौरबका आयोजनाको रुपमा तोकेको छ ।यी आयोजनाका लागि निर्माण सामग्री आवश्यक पर्छ ।जसको लागि नदीजन्य पदार्थको अत्यधिक र अवैध दोहन भइरहेको छ।कानुनी रूपमा खानी तथा भूगर्भ विभागबाट स्वीकृति लिएर मात्र नदीजन्य पदार्थको उत्खनन् गर्न पाइन्छ।तर,ठेकेदार,स्थानीय व्यवसायीहरु,स्थानीय जनप्रतिनिधिहरु र राजनीतिक संरक्षण प्राप्त समूहहरूले अनियन्त्रित र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी देशको पर्यावरणीय सन्तुलन बिगारिरहेका छन्। 
जसका कारण देशका मुख्य नदीहरु तथा साना खोला खोल्साहरु माथिखुलेआम बलात्कार भई रहेको छ ।कोशी,गण्डकी र कर्णाली लगायत देशका मुख्य नदीहरू तथा महाकाली तथा तिनका सहायक खोलाहरूबाट बालुवा,गिट्टी र ढुंगा निकाल्ने क्रम बढ्दै गएको छ।यस्ता प्राकृतिक स्रोतहरूको असन्तुलित एवम अवैध दोहनले नदीको बहाव परिवर्तन हुन सक्ने,बाढीको सम्भावना बढाउने,भू–स्खलन निम्त्याउने र मौसमी विपदुहरुको जोखिम बढी रहेको छ ।
नदीमा पाइने विभिन्न जीवजन्तु तथा माछाका प्रजातिहरू नदीजन्य पदार्थ अवैध दोहनका कारण संकटमा परेका छन्।नदीको पानीको गुणस्तर घट्नुका साथै माटो कटान र उर्वर भूमि बालुवामा परिणत हुने क्रम बढी रहेको छ ।नदी नजिक रहेका बस्ती तथा खेतीयोग्य जमिनमा प्रत्यक्ष असर पर्न थालेको छ ।पानीको सहत भाँसीदै गएको छ। अनियन्त्रित तथा अवैध दोहनले नदीको बहाव अनिश्चित बनाउँदै लगेको छ।जसका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुने तथा बाढीको जोखिम बढ्न थालेको छ ।
अवैध उत्खनन्का कारण माटोको प्राकृतिक संरचना विघटन हुन गई भू–क्षय बढ्ने सम्भावना छ। साथै,अत्यधिक दोहनका कारण जैविक विविधता प्रभावित हुने मात्र नभई मानव बस्ती तथा कृषि उत्पादनमा प्रतिकूल असर पर्न थालेको छ।नदीजन्य पदार्थको व्यापारबाट सरकारले राजस्व संकलन गर्नुपर्ने भए तापनि अवैध उत्खनन्का कारण ठेकेदार र व्यवसायीहरूले ठूलो मात्रामा राज्यको राजस्व ठगी गरिरहेका छन्।कानुनी प्रक्रिया अवलम्बन नगरी गरिएको व्यापारले कर छली तथा आर्थिक अपराधलाई बढावा दिइरहेको छ।नदीहरुको अनियन्त्रित तथा अवैध दोहनले स्थानीय समुदायमा विभिन्न समस्या सिर्जना गरेको छ। नदीको सतह तल जाँदा कुवाहरू सुकेर खानेपानीको अभाव सिर्जना हुने,पुल तथा सडकहरू भासिने, खेतीयोग्य जमिन नष्ट हुनेजस्ता समस्याहरू देखा पर्न थालेका छन् ।
अवैध नदी दोहन किन भइरहेको छ ?
अवैध उत्खनन्मा संलग्न ठेकेदार तथा व्यापारीहरूलाई राजनीतिक दलका व्यक्तिहरूले संरक्षण दिने गरेका छन्।प्रभावशाली ठेकेदारहरू राजनीतिक पहुँचका आधारमा कानुनी कारबाहीबाट जोगिने गरेका छन्।नेपालमा नदीजन्य पदार्थ उत्खनन् तथा निकासी सम्बन्धी कानूनी प्रावधानहरू रहेका भएपनि नियामक निकाय नै कौडीको भाउँमा बिक्रि हुँदा कानून बर्खिलाप भई रहेको छ ।नियामक निकाय तथा  सरकारी निकायहरू भ्रष्टाचारमा संलग्न भएकाले कानुनी कारबाही कमजोर देखिएको छ।कमिसनको प्रलोभनमा स्थानीय तह,प्रहरी प्रशासन तथा वातावरणीय नियमन गर्ने निकायहरू प्रभावकारी रूपमा काम गर्न असफल भएका छन्।कतिपय अवस्थामा स्थानीय सरकारका प्रतिनिधिहरु नै अवैध उत्खनन्मा संलग्न हुने गरेका समेत पाइएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन् तथा बिक्रीमा संगठित गिरोहहरू संलग्न छन्।उनीहरू प्रशासनलाई आर्थिक प्रलोभनमा पारेर कानुनलाई वेवास्था गर्दै आफुखुसी काम गर्न तल्लीन देखिएका छन्।राष्ट्रिय गौरबहरुका साथै तीव्र विकासका नाममा निर्माण सामग्रीको आवश्यकता बढ्दो छ।समयमै काम सम्पन्न गर्ने दबाबका कारण वैधानिक प्रक्रिया नअपनाई नदीजन्य पदार्थ निकाल्ने प्रवृत्ति बढेको छ।
कानूनी व्यवस्था के छ ?
नेपाल सरकारले “ढुङ्गा,गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीहरूको उत्खनन्,बिक्री र व्यवस्थापनलाई व्यवस्थित गर्न“ढुङ्गा,गिट्टी तथा बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड,२०७७” जारी गरेको भएपनि त्यसलाई वेवास्था गर्दै आफुखुसी नदीजन्य पदार्थको दोहन तथा अवैध उत्खनन् भई रहेको भएपनि सरोकारवाला मौन देखिएका छन् । 
जुन मापदण्डमा खानीजन्य पदार्थहरूको उत्खनन् तथा संकलन गर्न सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने,नदीजन्य पदार्थको दोहन तथा उत्खनन् गर्न वातावरणीय प्रभाव मूल्यांकन(ईआईए)वा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्नुपर्ने प्रावधन छ।नदी तथा खोल्सामा उत्खनन् गर्दा पानीको बहाव, तटबन्ध र आसपासको वातावरणमा असर नपर्ने गरी कार्य गर्नुपर्ने,उत्खनन् कार्य तोकिएको समय सीमाभित्र सम्पन्न गर्नुपर्ने,उत्खनन् कार्य गर्दा सुरक्षा मापदण्डहरूको पालना गर्नुपर्ने,उत्खनन् कार्यमा स्थानीय समुदायको सहभागिता र सल्लाह लिनुपर्ने,उत्खनन् तथा बिक्रीबाट प्राप्त हुने राजस्व तोकिएको दर अनुसार सरकारलाई बुझाउनुपर्ने,नदी तथा खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारी गर्न सवारी साधनहरुको अनुमती,उत्खनन् स्थानमा सूचना बोर्ड,सिमांकन,स्टोक स्थलको अनुमती,ठेक्का प्रक्रिया,सम्झौता पत्र विपरित,समयावधि,उत्खनन् प्रमाणित गर्ने,सिमासम्बन्धी मापदण्ड र अनलाईन भ्याट विल समेत राख्नु पर्ने प्रावधान भएपनि अधिकांश स्थानमा भएका नदी दोहनहरुको सो प्रक्रिया कही नपुगेको पाइने गरेको छ ।
यस प्रकारका मापदण्डहरुको उद्देश्य प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै वातावरणीय सन्तुलन कायम राख्नु हो।यसका साथै,अवैध उत्खनन् नियन्त्रण गर्न र स्थानीय तहको भूमिकालाई स्पष्ट पार्न मापदण्डले मार्गदर्शन गर्द छ।
समाधानका उपायहरू
अवैध उत्खनन्मा संलग्न ठेकेदार,व्यापारी तथा तिनलाई संरक्षण गर्ने निकायहरूलाई कारबाही गर्न कडा कानूनी व्यवस्था लागू गर्न आवश्यक छ।जसका लागि ड्रोन र सिसीटिभी जस्ता प्रविधि प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्को निगरानी गर्नु सकिन्छ।स्थानीय बासिन्दाहरूलाई सचेत बनाउँदै नदी दोहन रोक्न जनस्तरबाट निगरानी राख्ने प्रणाली लागू गर्नुपर्ने,अवैध उत्खनन्लाई राजनीतिक संरक्षण दिनेलाई सार्वजनिक रूपमा कारबाही गर्ने व्यवस्था गर्नुपर्ने,राष्ट्रिय गौरवका आयोजनाहरूलाई आवश्यक पर्ने निर्माण सामग्रीको आपूर्ति व्यवस्थित तथा वैज्ञानिक ढंगले गर्न दीर्घकालीन नीति ल्याउनु आवश्यक छ।
राष्ट्रिय गौरवका आयोजना देशको विकासका लागि महत्वपूर्ण छन् ।तर यी आयोजनाहरूको नाममा अवैध नदी दोहन गर्नु घातक छ।यसको असर नदीको प्राकृतिक प्रणाली,वातावरण,स्थानीय बस्ती,कृषि क्षेत्र तथा सरकारको राजस्व संकलनमा नकारात्मक रूपमा असर परेको छ।यदि अवैध उत्खनन्लाई तुरुन्त रोकिएन भने दीर्घकालीन रूपमा पर्यावरणीय संकट निम्तिन सक्छ।
त्यसैले,सरकार,स्थानीय समुदाय,नागरिक समाज तथा मिडियाकर्मीहरुले मिलेर अवैध नदी दोहन विरुद्ध कडा कदम चाल्न आवश्यक छ।राष्ट्रिय गौरवका आयोजनाहरूलाई दिगो विकासको सिद्धान्त अनुसार अघि बढाउनुपर्छ।जसले वातावरणलाई कम क्षति पु¥याउँदै देशको विकासलाई अघि बढाउन सघाउ पु¥याओस्।

सम्बन्धित समाचार