गत भदौ २३ र २४ गतेको घटनापछि पनि दलहरु नसुध्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङदेनले बताए ।सर्लाहीको कौडेना गाउँपालिका स्थित कौडेना बजारमा आयोजना गरिएको राप्रपाको प्रथम गाउँपालिका अधिवेशनलाई सम्वोधन गर्न सर्लाही आएका अध्यक्ष लिङदेनले जेनजी बिद्रोहपछि पनि दल र नेताहरु सुध्रिने संकेत नदेखिएको बताए ।
उनले भदौ २३ र २४ गते यत्रो बिध्वंश हुँदा पनि अझै हाम्रो नेतृत्व युवाहरुको भावना अनुसार चल्न नखोज्नु दुःखद् मात्रै नभएर यही अवस्थामा रहि रहने हो भने देशले थप क्षति बेहार्नुपर्ने समेत बताए ।आगामी निर्वाचनमा सही,साँचो नेता चुनेर मतदान गर्न पनि उनले आग्रह गरे। आम नागरिकले अबको निर्वाचनमा मत परिवर्तन गरेर सच्चा र सही नेता चुन्नुपर्ने उनले बताए ।
३५ वर्षदेखि नेतृत्वमा रहेका दल र नेताले नागरिकको माग र मुद्दालाई सम्वोधन नगर्दा मुलुक बर्बाद भइ नागरिक समेत गरिबीको रेखाबाट माथि उठ्न नसकेको उनको तर्क छ।लिङदेनले नेपाल जलस्रोतमा धनी रहेको उल्लेख गर्दै यसलाई सही सदूपयोग गर्न सके युवाहरुलाई बैदेशिक रोजगारबाट रोक्ने प्रमुख आधार बन्न सक्नेमा जोड दिए।
उनले मधेश प्रदेशमा राप्रपाको जनाधार कमजोर रहेकाले आगामी निर्वाचनमा मतदान गरिदिन कार्यक्रममा सहभागीसँग आग्रह समेत गरेका छन्।कार्यक्रमलाई राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली,मधेश प्रदेश अध्यक्ष भरत गिरी,सर्लाही क्षेत्र नं. २ का अध्यक्ष विजयकुमार यादव,जिल्ला अध्यक्ष सत्यनारायण यादव र नेता महेन्द्र रायलगायतले सम्वोधन गरेका थिए ।