लालबन्दी १२,स्याङ्वाडाँडामा प्राण प्रतिष्ठा आजबाट सुरू

401 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १२,स्याङ्वाडाँडा,पत्थरकोटस्थित शेष महलमा भगवान् सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठाका लागि तीन दिने धार्मिक समारोह आजबाट सुरु भएको छ।हरेराम सङ्कीर्तन कुञ्जले आज अर्थात माघ २१ गतेबाट लालबन्दी नगरपालिका १२,स्याङ्वाडाँडा,पत्थरकोटस्थित शेष महलमा भगवान् सङ्कर्षणको विग्रह प्राण प्रतिष्ठाका लागि तीन दिने धार्मिक समारोह सुरु गरेको हो ।
देशभरबाट पाँच हजारभन्दा बढी भक्तजनको समारोहमा सहभागिता हुने आयोजकले जनाएको छ । कार्यक्रममा सङ्कर्षण यज्ञ,श्रीमद्भागवत एकाह पारायण लगायतका धार्मिक अनुष्ठान आयोजना गरिएको र भक्तजनको बसोवास र अन्य व्यवस्थापनका लागि विशेष प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।
धार्मिक मान्यताअनुसार चार युगका उपासना पद्धतिहरू(सत्ययुगमा तपस्या,त्रेतायुगमा यज्ञ,द्वापरयुगमा पूजा र कलियुगमा हरिनाम सङ्कीर्तन)अनुसार भगवान् सङ्कर्षणको विग्रहको प्रतिष्ठा गरिने हरेराम सङ्कीर्तन कुञ्जले बताएको छ।समारोहमा काठमाडौं अनन्तप्रसाद गौतम र अजित प्रसाद गौतम लगायतका धार्मीक गुरुहरूको विशेष उपस्थिति रहने छ भने काभ्रेका अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डलका पण्डितहरूले समेत धार्मिक अनुष्ठानमा सहभागीता जनाउने छन्।
भारतको जयपुरका कलाकारहरुले सिंहमरमरमा कुँदिएको यो विग्रह विश्वमै पहिलो भएको र यसको निर्माणमा करिब रु एक करोड खर्च लागेका छ।३५ फिट अग्लो शेष महल तालध्वज रथको अवधारणामा १४ स्तम्भहरूको आधारमा निर्माण गरिएको आयोजकले जनाएको छ।दीर्घकालमा लालबन्दी नगरपालिका १२,स्याङ्वाडाँडालाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृन्दावन धामसरहको तीर्थस्थल बनाउने योजना रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार