सर्लाहीको गोडैता नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको छ । गोडैता नगरपालिका ३,स्थित जनता मा.वि.भगवतीपुरमा नगरभरका ९१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई भेला पारेर साइकल वितरण गरिएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार अत्यन्तै न्यून पारिश्रमिक लिएर गाउँघरमा स्वास्थ्य सेवा प्रवाह गर्न उच्च योगदान पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप पहिलो पटक साइकल उपलब्ध गराइएको हो।सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पारिश्रमिक बापत मासिक रु एक हजार दिँदै आएकोमा गोडैता नगरपालिकाले सो रकममा पालिकाको तर्फबाटरु दुई हजार थप गरेर उपलब्ध गराउँदै आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
अतिकम सुविधा लिएर पनि स्वास्थ्य सेवा प्रवाह गर्न निरन्तर परिचालित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगर प्रमुख यादव,उपप्रमुख अन्जना कुशवाहा,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको उपस्थितिमा साइकल हस्तान्तरण गरिएको गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले बताए । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गत वर्ष नै साइकल उपलब्ध गराउने तयारी भएपनि खरीद प्रक्रिया झन झटीलो भएको करणले प्रक्रिया पूरा गर्न समय लागेर ढिलो भएको हो ।
त्यसैगरी,गोडैता नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सबैभन्दा माथिल्लो ग्रेड ३ दशमलव ६० देखि माथिको जीपीए प्राप्त गर्ने नगरभित्रका १० जना विद्यार्थीहरुलाई जनही रु २५ हजार सहित पुरस्कृत समेत गरेको छ।नगर भित्रका दुई सामुदायिक विद्यालयबाट सबैभन्दा माथिल्लो ग्रेड ल्याएर एसइइ उर्तीण भएका १० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको नगरपाकिलाको शिक्षा शाखाका प्रमोद कुमार यादवले जानकारी दिए।उनका अनुसार गोडैता नगरपालिका ८ स्थित रहेको वेणी भोला नमूना मा.वि.का आशुतोष कुमार झा, विशाल कुमार झा,आलोक कुमार कुशवाहा,अनु कुशवाहा सिंह,सुदीक्षा प्रजापति,आदित्य नारायण झा,निश्चल प्रतीक र पल्लवी कुमारी तथा गोडैता नगरपालिका १० सिसौटिया स्थित रहेको नारायण हरी मा.विका सुशान्त यादव र सुस्मिता कुमारी यादव पुरस्कृत भएका हुन् ।