सर्लाहीमा बाख्रापाठालाई पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउन सुरु गरिएको छ।जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाबाट पिपिआर रोगविरुद्धको निःशुल्क खोप अभियान प्रारम्भ गरेको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवा सर्लाहीका प्रमुख उपेन्द्र प्रसाद सिंहले जानकारी दिए ।उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका २० वटै पालिकामा पशु स्वास्थ्यकर्मी परिचालन गरिएको र सर्लाहीका करिव दुई लाख बाख्रापाठालाई पिपिआर तथा अन्य रोग विरुद्धको खोप लगाउने तयारी रहेको छ।
पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने,खोक्ने र रगत छेर्नेलगायतका लक्षण देखिने पशु सेवा प्राविधिकहरुले बताएका छन्।यो लक्षण देखिएको एक सातामै बाख्रापाठा मर्ने गरेका छन्।पिपिआरको महामारी फैलँदा पशुपालक किसानहरुलाई ठूलो क्षति पुुग्ने भएकाले संघ तथा प्रदेश सरकार र स्थानीय तहको समन्वयमा खोप कार्यक्रम सञ्चालन गरिएको भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवा सर्लाहीका प्रमुख सिंहले बताए ।बाख्रापाठालाई पिपिआर लागेपछि बचाउन गाह्रो पर्ने भएकाले आफ्नो गाउँठाउँमा आउने पशु सेवा प्राविधिकहरुबाट आफूले पालेका बाख्रापाठालाई खोप लगाउन पशु सेवा विज्ञ केन्द्र मलंगवा सर्लाहीले अनुरोध गरेको छ ।