बागमती प्रदेशको मकवानपुरको बागमती गाउँपालिकामा आयोजना गरिएको सातौँ बागमती गोल्ड कपको उद्धघाटन खेलमा सर्लाहीको बागमती नगरपालिका स्थित रहेको बागमती युवा क्लबले आयोजकलाई पराजीत गरेको छ ।शनिबारबाट सुरु भएको सातौँ बागमती गोल्ड कपको उद्धघाटन खेलमा आयोजक बागमती गाउँपालिकालाई बागमती युवा क्लबले १–०गोल गर्दै आयोजकलाई पराजीत गरेको बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा शहीद स्मृति रंगशालामा भएको सातौँ बागमती गोल्ड कपको उद्धघाटन खेलमा आयोजक बागमती गाउँपालिकालाई १–० गोल गर्दै बागमती युवा क्लबले जीत निकालेको हो ।
खेलको ७६ मिनेटमा बागमती युवा क्लबका विमल घिसिङले निर्णायक गोल गरेपछि बागमती युवा क्लब उद्धघाटन खेलमा विजयी भएको छ।प्रतियोगिताको पहिलो दिनको म्यान अफ द म्याच पनि घिसिङ नै घोषित हुँदै रु १० हजार प्राप्त गरेका छन् । प्रतियोगितामा सात वटा “ए”डिभिजन क्लब र तीन वटा मोफसलका क्लबसहित १० वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।प्रतियोगिता अन्तर्गत आइतबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ र हानामी क्लब बिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले रु १० लाख सहित शिल्ड,मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु पाँच लाख सहित शिल्ड,मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने आयोजक बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए।उनका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिने साथै म्यान अफ द म्याचलाई रु १० हजार सहित ट्रफी प्रदान गरिने छ ।
सातौँ बागमती गोल्ड कप आयोजना गर्न गाउँपालिकाले रु २५ लाख बजेट सहयोग गरेको छ भने रु ७४ लाख ७३ हजार खर्च हुने अनुमान गरिएको बागमती गाउँपालिकाका उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिनाले बताए ।उनका अनुसार प्रतियोगिताका लागि मकवानपुरका १० वटै स्थानीय तह तथा सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको छ। प्रतियोगिताको फाइनल खेल फागुन १२ गते सोमबार हुने आयोजकले जनाएको छ ।