Close This

एकै दिन ७४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

पत्र पत्रिका    प्रकाशित: २०७७-३-१९ गते   २८९ पटक हेरिएको

पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ४८३ नमुना परीक्षण गर्दा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।यससँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

थप एकको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । काठमाडौं, नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको एक निजी अस्पतालमा उपचारका क्रममा १७ गते राति ११ बजेतिर निधन भएको हो ।

उच्च रत्तचाप र पार्किन्सनका बिरामी उनी छाती दुख्ने र पिसाब कम भएको भन्दै अस्पताल गएका थिए । आईसीयूको आइसोलेसन सेन्टरमा उपचारका क्रममा मृत्यु भएको र उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।यससँगै कुल मृतकको संख्या ३२ पुगेको छ ।

अछाममा २३० जना थपिए

मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै अछामका २३० जना छन् ।यस्तै कैलालीका ५८ जना, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८ जना, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० जामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी, दाङ र तनहुँका ९/९ जनन, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ जना सुर्खेत र महोत्तरीका ६/६ जना, उदयपुर र मोरङका ५/५ जना, पर्वतका ३ तथा कास्की र पर्साका २/२ जना छन् ।

यस्तै, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एकैदिन ८२३ डिस्चार्ज भए

पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ८२३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।www.onlinekhabar.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech