सागरनाथ वन विकास परियोजना सर्लाहीको गस्ती टोलीले ठूलो परिमाणमा चोरी तस्करी हुँदै गरेको काठ बरामद् गरेको छ। परियोजनाबाट वन गस्तीमा खटिएका फरेस्टर गंगा ठाकुरको नेतृत्वको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका ४ र १३ बाट साल,टिक र सिरिस जातको करिब एक सय ६६ क्युफिट काठ चोरी तस्करी हुँदै गरेको अवस्थामा बरामद् गरेको परियोजनाका प्रमुख खेमलाल वि.क.ले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिका ४ को फुलजोर र इश्वरपुर नगरपालिका १३ को श्रीनगर क्षेत्रबाट सागरनाथ वन विकास परियोजना सर्लाहीको वन गस्ती टोली र शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प सागरनाथको संयुक्त गस्ती टोलीले साल जातको एक सय ४४ क्युफिट,टिक जातको १३ क्युफिट र सिरिस जातको करिब नौ क्युफिट गरी एक सय ६६ क्युफिट काठ बरामद् गरेको हो ।
परियोजनामा प्राविधिक कर्मचारी अभाव कै बाजुत पनि परियोजनाले गस्तीलाई तिब्र बनाउनुका साथै वन पैदावर उत्पादनको कामलाई समेत तिव्रता दिएको परियोजना स्रोतले जनाएको छ ।पछिल्लो समय आर्थिक तथा व्यवस्थापकिय हिसाबले कमजोर देखिएको परियोजनामा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा परियोजनाका नियमित कामहरु प्रभावित भएका छन् ।