नेपालमा विभिन्न ठाउँमा मेला–महोत्सवको नाममा विकृति फैलिदै गएको पाइएको छ ।मेला महोत्सवहरू संस्कृति,परम्परा,पर्यटन प्रवद्र्धन तथा स्थानीय व्यापारको प्रवद्र्धनका लागि महत्वपूर्ण मानिने भएपनि पछिल्लो समय मेला–महोत्सवको नाममा विकृति फैलिँदै गएको देखिएको हो ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मेला–महोत्सवहरू आजकल मनोरञ्जनका बहानामा व्यावसायीकरण मात्र नभई विकृति र विसंगतिले भरिन थालेका जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार महोत्सवका नाममा मदिरा सेवन,अश्लील नृत्य,जुवातास,सट्टाबाजी,अनियन्त्रित खर्च र सामाजिक सद्भाव खल्बल्याउने गतिविधि मौलाउन थालेका छन्।
“आर्थिक समुद्धि र स्वरोजगारको आधार–कृषि,पर्यटन,उद्योग र व्यापार”भन्ने मूल नारासहित शुक्रबारबाट सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित भूदेव खाद्य उद्योग (गोल्छा) पसिरसरमा दोस्रो लालबन्दी महोत्सव सुरु भएको हो ।धार्मिक स्थलहरू नजिकै भड्किलो संगीत बजाउनु,स्थानीय संस्कृतिभन्दा विदेशी तथा अपाच्य शैलीको प्रस्तुति दिनु र युवा पुस्तालाई अनुशासनहीनतातर्फ उन्मुख गराउनु जस्ता समस्याले मेलाको मूल उद्देश्यलाई नै धूमिल्याई दिने स्थानीय जानकारहरु बताउँछन् ।कतिपय ठाउँमा मेला बहानामा अवैध कारोबार र आपराधिक गतिविधि समेत हुने गरेको पाइने गरेको छ।
यसरी मेलाको नाममा मौलाउँदै गएको विकृति रोक्न स्थानीय प्रशासन,समुदाय तथा आयोजकहरू सबै सचेत हुन आवश्यक छ। मेलाको मौलिकता जोगाउँदै मर्यादित रूपमा आयोजना गर्नेतर्फ ध्यान नदिए यसले समाजमा नकारात्मक असर पार्न सक्छ।मेला–महोत्सवहरूलाई संस्कृतिको जगेर्ना गर्ने थलो बनाउँदै विकृति नियन्त्रण गर्न सबै पक्षको सहयोग आवश्यक रहेको सरोकारवालाहरुको भनाई छ।