Close This

वर्षायाम सुरु भएसंगै बाढी पहिरोको जोखिम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-३-२० गते   ४७७ पटक हेरिएको

 मनसुन सुरु भएसँगै जिल्लामा बाढी पहिरोको जोखिम बढ्न थालेकोे छ । तराईका विभिन्न जिल्लाहरुमा बाढी , डुबान र नदी कटान लगायतका जोखिमका कारण हरेक वर्ष  ठूलो जनधनको क्षति हुने गरेको छ । मनसुनी प्रकोपका कारण  ज्यान जानेदेखि घाइते हुने, घर खेत बगाएर विस्थापित हुने समस्या यहाँका नागरिकले  बर्सेनि झेल्दै आएका छन् ।
यो वर्ष पनि ठाउँठाउँमा बाढीको समस्या देखिन सुरु भई सकेको छ । प्राकृतिक विपत्तिमा सरकारको ध्यान बेलैमा जान नसकेकोले हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । तर जिल्लाका स्थानीय तह तथा  सरोकारवाला निकायहरुले भने विपत्तिको तयारीमै रहेको  बताउँदै आएका  छन्  । यसवर्ष पनि जिल्लाका स्थानिय निकायहरुले  विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् । “ लालबन्दी नगरपालिका भएर बग्ने तीनवटा लखनदेही, कालीन्जोर र फुलजोर खोलाहरुमा आउने बाढीबाट  प्रत्येक वर्ष  खोला छेउछाउका बस्तीहरु सबैभन्दा बढी प्रभावित हुँदै आएकोले  प्रभावित बस्तीहरुकोे छेउ  भएर बग्ने खोलाहरुको व्यावस्थापन गर्ने काम भएको”लालबन्दी नगरपालिका नगरप्रमुख मान बहादुर खड्काले बताउनुभयो । 
बाढी र डुबानबाट  क्षति  भइसकेको अवस्थामा पीडितहरुको लागि  तत्कालै  आवश्यक पर्ने सामानहरुको व्यवस्थापन,अस्थाई बसोबासको व्यावस्थापनमा नगरपालिका गंभिर भएर लागने नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
“खोज तथा उद्धार कार्यमा प्रयोग हुनसक्ने डोजर, एक्साभेटर जस्ता हेभी इक्विपमेन्ट र अन्य उपकरण औजारहरु तयारी अवस्थामा राखिएको साथै बाढीबाट प्रभावित हुने नागरिकहरुका लागि त्रिपाल, भाँडाबर्तन ,रासन र ओढ्ने ओछ्याउने लगायतका अतिआवश्यक सामाग्रीहरुको पनि व्यवस्था गरिने” उप प्रमुख लामाले बताउनु भयो ।
जिल्लामा  हरेक वर्ष बाढीका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । यस्तै नदी कटान जस्ता समस्यामा आवश्यक हुने प्लाष्टिकको बोरा, तार जाली लगायतका सामान पनि तयारी अवस्थामा राखिएको जिल्लाका स्थानिय निकायहरुले बताएका छन 
 यो वर्ष  मनसुन सक्रिय भइसकेकोले जिल्लाका विभिन्न स्थानबाट बग्ने  बागमती ,लखनदेही,कालीन्जोर,फुलजोर, झिम, बाँके लगायतका नदीहरुका आसपासका बस्तीहरुमा जोखिम बढेको छ । कोरोना भाइरसका कारण खुला ठाउँमा रहेका विद्यालय भवनहरुलाई क्वरेण्टाइन बनाइएकोले बाढीबाट प्रभावित नागरिकहरुको सुरक्षाकोलागि आवश्यक परेमा उद्धार र स्थानान्तरण गरेर कहाँ, कसरी राख्ने भन्ने विषयमा जिल्लाका स्थानिय निकाय र विपत्त व्यवस्थापन समितिले छलफल समेत गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।
 जिल्लामा गतवर्र्ष बाढीका  कारण ३  जनाले ज्यान गएको थियो  भने १ जना बेपत्ता भएका थिए । २ हजार ४ सय घर पूर्ण रुपमा क्षति भएका विपत्त व्यवस्थापन समितिले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech