कवि,गीतकार,निवन्धकार एवम राजनीतिककर्मी सत्य पहाडीद्धारा लिखित दश कृतिहरु सङग्रह“सत्य सञ्चयन”विमोचन गरिएको छ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले पहाडीद्धारा लिखित दश कृतिहरु सङग्रह“सत्य सञ्चयन”विमोचन गर्दै समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण गर्दै कथा,उपन्यास र फिल्ममा नायक र खलनायकको द्वन्द्व भएझैं नेपाली समाज रुपान्तरणको अभियानमा पनि द्वन्द्व स्वभाविक भएको बताए ।
उनले समाज गतिशील भएकाले राजतन्त्रमा फर्कने वा समाजवादतिर जाने अन्तरविरोध सघन देखिए पनि नेपाली समाज अग्रगामी दिशामा अघि बढ्ने विश्लेषण गरे ।स्रष्टा पहाडीलाई आफूले सानैदेखि चिनेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक प्रतिरोध महत्वपूर्ण भएको बताए ।

चैत ५ को बलिदान र गौरवको महत्वलाई प्रकाश पारेका थिए भने कवि पहाडीका कवितासँग जनादेशबाट परिचित भएको र उनका सिर्जनाका विविध आयामसँग सत्य सञ्चयनले परिचित गराएको कवि,साहित्यकार तथा संस्कृतिचिन्तक ईश्वरचन्द्र ज्ञवालीले बताए।उनले सत्यले आफ्ना सिर्जनामा वर्गीय, जातीय, क्षेत्रीय मुक्ति तथा लैंगिक समानताका पक्षमा आफूलाई दह्रोसँग उभ्याएको बताए।उनले पहाडीको लेखनको मूल प्रवृत्ति प्रगतिवादी भएको विश्लेषण गरेका छन् ।प्रतिरोधको संस्कृतिलाई कसैले विर्सन नहुने गीतकार, सङ्गीतकार एवम् बरिष्ठ जनकलाकार माइला लामाले बताए।उनले प्रतिरोध संघर्षका लागि सांस्कृतिक संयुक्त मोर्चा आजको आवश्यकता भएको बताए।
मंगलबार विमोचित गरिएको“सत्य सञ्चयन”मा तीन कविता सङ्ग्रह,चार संस्मरण सङ्ग्रह,एक डायरी, एक लेख सङ्ग्रह र एक जनयुद्धकालीन पत्रहरुको सङ्ग्रह गरी जम्मा दश कृति रहेका छन् ।आगो, लाभा र हुरी,फर्जीका विरुद्ध र समयका यक्षप्रश्नहरु कवितासङ्ग्रह,मृत्युञ्जयी यात्रा,उत्सर्गगाथा, बेइजिङदेखि बालीसम्म,आमा एक जीवन दर्शन एक कमान्डर संस्मरण सङ्ग्रह,महात्रासदी कोभिड १९ को डायरी,जनयुद्ध,शान्ति र शिक्षाहरु (लेख सङ्ग्रह) र जनसमरका पत्र नामक कृति हालै प्रकाशित भएका हुन् ।
डोल्पाको त्रिपुरासुन्दरी १० लिकुमा २०३४ साल असोज ७ गते जन्मिएकी कवि पहाडी गणतन्त्र नेपालको शान्ती तथा पुन निर्माण मन्त्री समेत भएकी थिईन् ।अखिल(क्रान्तिकारी)बाट राजनीतिक जीवनको प्रारम्भ गरेकी पहाडीको पहिलो रचना जीवनयात्रा २०५२ मा जनादेशमा प्रकाशित भएको थियो भने पहिलो कृति जेल जीवनमा रहँदा २०५९ सालमा पर्खाल भित्रको सन्देश (संयुक्त कविता सङ्ग्रह) प्रकाशित भएको थियो ।
साहित्यिक प्रतिभा पुरस्कार र इच्छुक प्रतिभा पुरस्कारबाट सम्मानित भइसकेकी स्रष्टा पहाडी (माओवादी केन्द्र)को स्थायी समिति सदस्य हुन भने अखिल नेपाल जनसांस्कृतिक महासंघ,मध्यपश्चिम साहित्य परिषद्,प्रगतिशील लेखक संघ,इच्छुक सांस्कृतिक प्रतिष्ठान जस्ता साहित्य,कला र संस्कृतिसँग सम्बन्धित संस्थाहरुको नेतृत्व पनि गरिसकेकी छन्।यी दश कृतिहरुको सँगालो “सत्य सञ्चयन”को प्रकाशन आरम्भ प्रकाशन प्रा.लि काठमाडौँले गरेको हो भने सम्पादन कवि राजकुमार कुँवरले गरेका हुन् ।सांस्कृतिक प्रतिरोध दिवसमा सहिद परिवार र जनसांस्कृतिक आन्दोलनमा योगदान गर्ने संस्कृतिकर्मीलाई सम्मान गरिएको थियो ।