सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोरमा चिन्दै नचिनेका मानिसहरु गाउँमा आएर एक्कासी जग्गा नापजाँच गर्न थालेपछि विवाद हुँदा स्थानीयले केही मानिसहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
भूमिसुधार र नापी कार्यालयको रेकर्डमा खयरमाराखोर भनी उल्लेख रहेको कालिन्जोरस्थित दोङखोरिया क्षेत्रमा आइतबार दिउँसो जग्गा नाप गर्न आएको गिरोहका सात जनालाई स्थानीयहरुले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास बुझाएका छन् ।आफूहरुले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासी देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने,फोटो खिच्ने,भिडियो बनाउने जस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरु भेला भएर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन ।
आक्रोसीत स्थानीयले पहिला उनीहरुलाई नियन्त्रणमा लिएर इश्वरपुर नगरपालिका १२ को वडा कार्यालयमा पुर्याएका थिए । पछि ती सातै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगञ्जमा बुझाइएको इश्वरपुर नगरपालिका १२ कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्रीले बताए ।
स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएकाहरुमा बाराको जितपुर सीमरा उपमहानगरपालिका ११,का उमाशङ्कर साह,जितपुर सीमरा उपमहानगरपालिका १, का ज्ञानबहादुर लामिछाने र जितपुर सीमरा उपमहानगरपालिका ११, का विनय कुमार चौधरी, सिरहाको कर्जन्हा नगरपालिका १, का राहुलकुमार साह,धनुषाको मिथिला नगरपालिका ९, का जयकुमार ठाकुर र धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, का विजयकुमार साह र महोत्तरीको मनरा सिस्वा नगरपालिका ४ का धीरेन्द्र झा रहेका छन् ।
प्रदेश ३–०१–०२२ च १८४१ नम्वरको कार चढेर आएका उनीहरुको साथबाट रु पाँच लाख नगद समेत बरामद भएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ । यि व्यक्तिहरु अचानक गाउँमा आएर विभिन्न धाकधम्की,डरत्रास देखाएपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीयको भनाई छ ।
“पूरै बस्तीको जग्गा आफूहरुको हो भन्दै नापजाँच गर्न थालेपछि उनीहरुलाई सबै स्थानीय मिलेर भएर नियन्त्रणमा लिएका,” वडाध्यक्ष खत्रीले भने,“हामीले वडा कार्यालयमा लगेर उनीहरुसँग सोधपुछ गर्दा उनीहरुका गतिविधि र बोली शङ्कास्पद देखियो,त्यसपछि प्रहरी बोलाएर जिम्मा लगायौँ ।”
प्रहरीले नियन्त्रणमा लिएका मानिसहरुको सम्वन्धमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार केही मानिसहरु आएर आफूहरुलाई थाहै नदिई जग्गा नाप्न थालेको र त्यसपछि आफूहरुले नियन्त्रणमा लिएको भनी स्थानीयहरुले भनेका छन्,वास्तविकता के हो भनी हामी पनि बुझ्दै छौँ,” उनले भने ।
स्थानीयहरुले जग्गा कारोवारीहरु आएर अचानक आफूहरुलाई डर त्रास देखाएर जग्गा हड्प्न खोजेको बताएका छन् ।प्रहरी नियन्त्रणमा रहेकाहरुसँग के–कस्ता कागजात छन् भनी प्रहरीले केही खुलाएको छैन् ।