सर्लाहीको हरिवन नगरपालिका १ भोक्टेनीकी एक अन्दाजी ४५ वर्षिय महिला आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन्।हरिवन नगरपालिका १ भोक्टेनीकी ती महिला फागुन २१ गते राती स्थानीय जिवछ महतो कोईरीबाट बलात्कृत भएकी पाइएको छ ।पीडित महिलाले फागुन २२ गते इलाका प्रहरी कार्यालय,हरिवनमा लिखित उजुरी दिएपछि उनीमाथि जवरजस्ती करणी भएको रहस्य बाहिरिएको हो।उनले आफ्नै छिमेकी जिवछ विरुद्ध ईलाका प्रहरी कार्यालय हरिवनमा जाहेरी दिएपछि जिवछलाई नियन्त्रणमा लिएर प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको भएपनि प्रहरीले जवरजस्ती करणीका अभियुक्तलाई प्रहरीले हाजिरी जमानीमा छाडेको पाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका जिवछकी आमाको फागुन २० गते मृत्यु भएको कारण देखाउँदै हरिवन नगरपालिका ४ सासापुरका इन्द्रदेव महतोले काज किरिया सम्पन्न भएपछि पुनःउपस्थित गराउने सर्तमा अभियुक्तलाई हाजिरी जमानीमा लगेका समेत पाइएको छ ।तर,काज किरिया सम्पन्न भए पनि जिवछ प्रहरी समक्ष हाजिर नभई फरार भएपछि प्रहरीको कार्यशैली प्रति स्थानीयले प्रश्न गरेका छन्।अभियुक्त फरार भएपछि पीडित महिलाले चैत्र ४ गते औपचारिक रूपमा फेरी जाहेरी दर्ता गराएकी पाइएको छ।हाल अभियुक्त महतो र जिम्मेवारी लिएका इन्द्रदेव महतो दुवै जना फरार रहेका पाइएको छ ।
प्रहरीले अभियुक्तको खोजी तीव्र पारिएको दाबी गरे पनि पीडित परिवारले घटनालाई ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।केही स्थानीय नेताहरूले रु १५ लाखको सेटिङ मिलाइ दिने भन्दै उल्टै पीडितलाई प्रलोभन दिने प्रयास गरिरहेका पीडित परिवारले जनाएका छन् ।छिमेकीबाट भएको यो जघन्य अपराधमा न्यायको खोजी गरिरहेका पीडित परिवार निराश देखिएका छन्।पीडित महिलाको सुरक्षाको सवाल उठिरहेका बेला अभियुक्तलाई चाँडो पक्राउ गरी कानुनी कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ ।