मधेश प्रदेशका अधिकांश निजी स्वास्थ्य संस्थाहरुले मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिश कुमार सिंहको निर्देशन अटेर गरेका छन्।सर्लाही सहित मधेश प्रदेशका सबै जिल्लाहरुमा मुख्य मन्त्री सिंहले निर्मम भएर निजी स्वास्थ्य संस्थाहरुको स्थलगत अवलोकन गर्दै प्रचलित मापदण्ड विपरित सञ्चालित निजी स्वास्थ्य संस्थाहरुलाई वन्द गर्न निर्देशन दिएका थिए।
तर मुख्य मन्त्री सिंहले दिएको निर्देशन अटेर गर्दै मधेश प्रदेशका अधिकांश निजी स्वास्थ्य संस्थाहरु आफुखुसी लुकीचोरी सञ्चालन भई रहेका पाइएको छ।सर्लाहीको लालबन्दी,नवलपुर,हरिवनका साथै मलंगवाका अधिकांश निजी स्वास्थ्य संस्थाहरुले लुकीचोरी बिरामी चेकजाँच गरि रहेका पाइएको हो ।मुख्य मन्त्री सिंहको टोलीले स्थलगत अवलोकन गर्दा प्रचलित मापदण्ड नपुगेका निजी स्वास्थ्य संस्थाहरु वन्द गर्न पत्र दिईएको भएपनि प्रदेशका अधिकांश निजी स्वास्थ्य संस्थाहरुले अटेर गर्दै बिरामी चेकजाँच गरी रहेका पाइएको छ ।
प्रचलित मापदण्ड पुरा नगरी निजी स्वास्थ्य संस्थाहरु सञ्चालन गरी मानवको स्वास्थ्यसंग गम्भीर खेलवाड गर्दै स्वास्थ्य सेवालाई व्यापारको रुपमा प्रयोग गर्दै आएका पाइएको छ।उपचारको नाममा चर्को रकम असुली गर्दै बिरामीलाई लुटदै आएका मधेश प्रदेशका अधिकांश निजी स्वास्थ्य संस्थाहरुले प्रचलित मापदण्ड पुरा गर्नुको सट्टा आफुखसी लुकीचोरी लुटतन्त्र मच्याई रहेका स्थानीय बताउँछन् ।उनीहरुका अनुसार पावर र पहुचको भरमा मापदण्ड विपरीत सञ्चालित निजी स्वास्थ्य संस्थाहरु प्रति नियमनकारी निकाय निरिह देखिएको छ ।
प्रहरी प्रशासनको कमिकमजोरीका कारण मुख्यमन्त्री सिंहले दिएको निर्देशन कार्यान्वयन हुन नसक्दा प्रहरीमाथी पनि ठुलो प्रश्न चिन्ह खडा भएको स्थानीयको आरोप छ।नियमनकारी निकायहरु नै चुप लागेर बसिरहेका कारण कहि न कहि नियमनकारी निकायकै संरक्षण र संलग्नतामा बन्द गरिएका कतिपय निजी स्वास्थ्य संस्थाहरु खुलेआम रुपमा सञ्चालन भई रहेका छन् ।