विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९¬¬) सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या सर्लाहीमा बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्ने र छाती दुख्ने लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अस्पतालमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको चाप बढेको जिल्ला अस्पताल सर्लाहीका चिकित्सक श्रीप्रताप साहले जानकारी दिनु भयो । उहाँका अनुसार ‘अहिले कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी दैनिक ६०–७० जना आउने गरेका छन् । उनीहरू सबैमा कोभिड भएको भने होइन,लक्षण चाहिँ मिल्दोजुल्दो छ, अस्पतालमा अहिलेसम्म गरिएको पीसीआर परीक्षणबाट जिल्लामा अहिले सम्म कोरोना पोजेटिभ र एन्टीजेन गरि ३ सय ७० जनामा पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । भने जिल्लाका कोरोना संक्रमणका कारण ७ जनाको ज्यान गएको छ । ३ सय ७० जना मध्य केही सर्लाही मै र केही जिल्ला बाहिर पिसिआर गराएका मानिसहरु रहेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा पनि बिरामीको चाप निकै बढेको डा.प्रगति रानाले बताउनुभयो । भाइरल ज्वरो, रुघाखोकीका बिरामी निकै बढेका छन्, हरेक दिन सामान्य स्वास्थ्य परीक्षण गर्दा अधिकांश बिरामीहरुमा कोरोना भाईरसको लक्षण मिल्दो जुल्दो देखिएको डा.रानाले बताउनुभयो । “समुदायस्तरमा नै नयाँ कोरोनाको लहर फैलिएको अनुमान गर्न सकिन्छ, पीसीआर परीक्षण सहज नहुँदा नागरिकले धेरै समस्या खेप्नु परेको छ ।” उहाँले बताउनु भयो ।
लालबन्दी नगरपालिका ६ का एकै गाउँका २९ जनामा उच्च ज्वरो आयो,झाडापखाला लाग्यो,रुघाखोकी पनि लाग्यो, छाती दुखने घाँटी दुख्ने लगायतका समस्या देखियो केही उपचार पछि निको भएर घर फर्किका छन् भने केही अहिले पनि केही अहिले पनि उपचारत अवस्थामा छन् । तर उनिहरुमा कोरोना भाईरस संक्रमण भने नभएको पाइएको डा.रानाले बताउनु भयो । गाउँमा एकै पटक यसरी ठुलो संख्यामा मानिस बिरामी पर्न थालेपछि त्यहाँका स्थानीयवासी थप त्रसित भएका छन् । जिल्लाका अन्य बिरामीहरूमा लगातार दुई हप्तासम्म उच्च ज्वरो र टाइफाइडको लक्षण जस्तो देखिएको र अधिकांश बिरामीले गाउँघरमा रहेका सामान्य स्वास्थ्यकर्मीसँग उपचार गराउने गरेका छन् ।
सामान्य लक्षण देखिँदा गाउँघरमै उपचार गर्ने र अवस्था गम्भीर आएपछि मात्र अस्पताल जाने गर्दा कोभिडको जोखिम झनै बढ्ने जिल्ला अस्पताल सर्लाहीका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सञ्जीव सिंहले बताउनु भयो ।