सर्लाहीका विभिन्न स्थानमा सुरक्षा अधिकारीहरुकै मिलेमतोमा जुवा खेल हुने गरेको पाइएको छ।शहरका विभिन्न स्थानमा प्रहरीले कारबाही गरेको देखाए पनि सर्लाहीका विभिन्न स्थानहरुमा ठूलो जुवालाई सुरक्षाकर्मीहरुले नै संरक्षण गरेका पाइएको छ। राजधानीका केही पाँचतारे होटल,रिसोर्ट,गुप्त कोठा र भाडाका भवनहरूमा संगठित रूपमा हुने जुवा खेललाई रोकेको प्रहरी संगठनले भित्रि गाउँहरुमा करोडौँको जुवा खालबाट रकम असुली गर्ने गरेको पाइएको हो।
सर्लाहीको ब्रम्हपुरी,पीडारीका साथै राईटरखोर र बागमतीमा रातिको समयमा ठुलो जुवा खेल हुने गरेको र त्यस वापत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहका साथै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी लालमणी आचार्य सहितले चर्को कमिसन असुल्ने गरेका पाइएको हो ।
स्रोतका अनुसार ललन साह,श्याम बाबु साह र राजु लोप्चन लगायतका मासिनहरुले हरेक रात करिब १० बजेदेखि महोत्तरी,सर्लाही र रौतहटका जुवाडेहरुलाई जम्मा पारेर जुवा खेलाउने र त्यस वापत स्थानीय प्रहरी चौकीहरुका साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंहका साथै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख एवम डिआईजी आचार्यलाई समेत कमिसन बुझाउने गरेका पाइएको छ ।
जसका कारण केही स्थानीयले प्रहरीलाई खबर गरे भने पनि प्रहरीले जुवा खेल भई रहेको स्थानमा जानु पहिला नै जुवाडेहरुलाई जानकारी दिने र भगाउने गरेको स्थानीयको आरोप छ।रातीको समयमा रौतहट र महोत्तरी सहित सर्लाहीका जुवाडेहरु जम्मा हुने र एकै रातमा करोडौँको जुवा खेल्ने गरेका पाइएको छ।
सो विषयमा हामीलाई जानकारी आएपछि हामीले केही प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई जानकारी गराउँदा ती प्रहरी अधिकारीहरुले आफुहरुको हैसियतले त्यो खेल रोक्न नसकिने र यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा।गण सर्लाही,मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीलाई नै सोध्न र उतैबाट बन्द गराउन निर्देशन दिन लगाउन भनेपछि उनीहरुको मिलेमतोमा जुवा खेल हुने गरेको प्रष्ट भएको हो।त्यसका साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक सिंह दुई/तीन दिन जुवा नखेल्न आफुहरुलाई भनेका जुवा खेलका सेटिङकर्ता एक व्यक्तले बताए ।
यता, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रमुख एवम प्रहरी उपरिक्षक सिंहलाई जानकारी गराउँदा केही दिन पहिला आफुहरु जिल्लाका केही ठाउँहरुमा छापामारी गर्न गएको भएपनि जुवाडेहरुले प्रहरी गएको सुराकी पाएपछि भागेका कारण नियन्त्रणमा लिन नसकेको बताए।उनले आफुहरुले मानिसहरु नियन्त्रणमा लिन नसकेपनि खेल भई रहेको ठाउंबाट मानिसहरु लखेटेको बताए।यसबाट जिल्लाका विभिन्न स्थानहरुमा ठूलो जुवा खेल हुने गरेको प्रष्ट हुन्छ।
स्रोतका अनुसार,प्रहरीको आँखा छल्न जुवा खेलाउनेहरूले “सेटिङ”को नाममा मासिक ठूलो रकम प्रहरी अधिकारीहरूलाई कमिसन बुझाउने गरेका स्वीकार गरेका छन्।रातको समयमा मात्र सञ्चालन गरिने यस्ता जुवाको अखडामा धनाढ्य व्यापारी,उच्चपदस्थ कर्मचारी तथा प्रभावशाली व्यक्तिहरू सहभागी हुने गरेका पाइएको छ।प्रहरीकै मिलेमतोमा जुवा खेलाइरहने हो भने समाजमा अपराध,ऋण तथा पारिवारिक विघटनका घटनाहरू झनै बढ्ने जानकारहरु बताउँछन् ।